‘फोनवार्ता सोह्रै आना झुठो’

‘फोनवार्ता सोह्रै आना झुठो’
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न फागुन २५ गते काठमाडौं विमानस्थल बाहिर जम्मा भएको समर्थकहरुको भीडले राजावादी दल र समूह उत्साहित बनेको तथा गणतन्त्रवादी दलहरु आत्तिएको भन्ने टिकाटिप्पणीले सामाजिक सञ्जाल गुल्जार छ । प्रतिगामी शक्तिविरुद्ध एक हुने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फोन संवाद गरेको खबरसमेत सार्वजनिक भएको छ । 

वास्तविकता भने अर्कै रहेको बताइन्छ । अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार सामाजिक सञ्जालमा हल्ला फैलाइएजस्तो माओवादीको तर्फबाट एमाले र कांग्रेससँग कुनै संवाद भएको छैन । आफ्नो पार्टीले सरकार फेरबदल गर्न चाहेको भन्ने खबर ‘सोह्रै आना’ झुट रहेको उनको भनाई छ । 

‘प्रचण्ड र प्रधानमन्त्रीको फोन भयो, देउवासँग कुरा भयो, नयाँ सरकारको लागि छलफल हुँदैछ....यी सबै सोह्रै आना झुट हो’, आचार्यले जनआस्थासँग भने, ‘पछिल्लो समय विकसित घटनाक्रम र देखा परेका समस्यालाई समाधान गर्न माओवादीले आफ्नो अभियानलाई रोकेको त हो, तर सरकारमा जान लाग्यो भन्ने कुरा वाहियात हो ।’

चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाको निर्णय अनुसार आगामी चैत १५ गते राजधानीमा आयोजना गर्ने भनिएको बृहत जनसभाको लागि बरु प्रचण्डसहितका नेताहरु आन्तरिक तयारीमा जुटेको उनले बताए । ‘प्रमुख स्वकीय सचिव भएको हैसियतले उहाँ(प्रचण्ड)ले कोसँग संवाद गर्नुहुन्छ, कोसँग भेट्नुहुन्छ, सामान्यतयाः त्यसको जानकारी मलाई हुन्छ नै । तर पछिल्लो दुई सातायता अध्यक्षज्यूले ओली र देउवासँग भेट त परको कुरा, फोनमा समेत कुरा भएको छैन, पार्टीपंक्ति १५ गतेका लागि फोकस छ’, उनले थपे । 

केहि दिनअघि पूर्व कानुनमन्त्रीसमेत रहेका एमाले नेता अग्नी खरेल भने प्रचण्ड निवासमा पुगेको उनले जानकारी दिए । तर त्यो नितान्त व्यक्तिगत भेटवार्ता रहेको बताइन्छ । उनले भने, ‘चार पाँच दिनअघि उहाँ (खरेल) चाहिँ खुमलटार आउनुभएको थियो, तर त्यो नीजि भेटवार्ता थियो । टिआरसीको बारेमा छोटो कुरा भएको थियो, त्यो बाहेक अरू सबै व्यक्तिगत हुन् ।’ 

आचार्यले पूर्वराजाको सक्रियताले माओवादी आत्तिएको भनेर गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरेका छन् । ‘हामीले मधेशकेन्द्रित अभियान स्थगित गर्नु र पूर्व राजा काठमाडौँ फर्किनु संयोग मात्रै हो, गलत भाष्य निर्माण नगरौँ’, उनले सुनाए, ‘मगर तथा थारुहरुको पर्व र होलीका लागि केही दिन अभियान स्थगित गर्ने पार्टीको पूर्वयोजना नै हो । यसै बेला राजावादीहरु बढी हल्ला गर्न थालेपछि चैत १५ मा जनसभाको कार्यक्रम तय गरिएको चाहिँ हो ।’

त्यसो त, तत्कालको लागि माओवादी कुनै पनि हालतमा सरकारमा नजाने अध्यक्ष प्रचण्डको ठोकुवा छ । लेखक राजेन्द्र श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सरकारमा जाने कुनै सोच र रणनीति नभएको स्पष्ट पारिएको हो । 

‘अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिदैनौँ पनि’, उहाँले भन्नुभयो, ‘हामी पनि यही सरकारमा गएर सामेल हुने कुरा कल्पना नगर्दा पनि हुन्छ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले कसैले हल्ला गर्दैमा माओवादीको अभियान प्रभावित नहुने  पनि बताउनुभयो । ‘अहिले सुनिराख्या छु, सरकारमा जान मैले को कोसँग संवाद गरिराख्या छु.. के के भन्ने....त्यो हल्ला नगरेकै राम्रो । त्यस्तो कोहीसँग कुरा भएको छैन’, अगाडि भन्नुभयो, ‘देशमा संकट आयो भने हामी समाधान गर्ने उपाय वा विचार त दिन्छौँ, तर अहिले नै सरकारमा जाने कुरा त....हुनत यसप्रकारको हल्लाले हाम्रो अभियानलाई कुनै फरक पर्नेवाला छैन, तर गलत हल्ला नफैलाएकै राम्रो !’

यता माओवादी सांसद लेखनाथ दाहालले भने हिजो प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा देखिएको बेथिति, अराजकता, अनियमितता र निराशाको कारण नै प्रतिगामीहरुले फाइदा उठाएको तर्क गर्दै गणतन्त्र पक्षधरको सरकार बनाउनेगरी संवाद अघि बढाइएको धारणा राखेपछि राजनीतिक तरंगित भएको थियो । ‘सरकारमै बसेर व्यवस्था विरोधीलाई फाइदा पुग्नेगरी जुन गतिविधि भइरहेको छ, त्यसलाई निरुत्साहन गर्न गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिने र सहकार्य गर्ने कुरा भएको छ, यो विषयमा कांग्रेससँग बढी छलफल चलिरहेको’ भन्ने विचारले चर्चा पाएको हो ।

पार्टीको निर्णायक मानिने नेतृत्व र उनको सचिवालयले कांग्रेस–एमालेसँग कुनै छलफल नै नभएको जिकिर गरिरहँदा सांसद दाहालले भने कुन पृष्ठभूमिमा उक्त अभिव्यक्ति दिएका होलान् ? यसलाई कतिपयले पार्टीभित्रकै ‘मिस कम्युनिकेसन’ भनेका छन् । यद्यपि, दाहाल स्वयम् भने यसलाई ‘मिस अन्डरस्ट्यान्डिंग’ बताउँछन् । 

‘केपी ओली नेतृत्वको सरकारप्रति जनतामा व्यापक निराशा र वितृष्ण पैदा भइरहँदा प्रतिगामीले त्यसको फाइदा लिइरहेको’ भन्न खोजेको दाहालको भनाई छ । हिजोको अभिव्यक्ति पुनःस्मरण गर्दै जनआस्थासँग भने, ‘प्रतिगामीविरुद्ध एक हुने सवालमा कांग्रेससँग बढी छलफल भइरहेको छ भन्न खोजेको हुँ, किनकि एमालेभन्दा कांग्रेस नै अघिदेखि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा उभिएको पार्टी हो । तर यहाँ प्रतिगामीविरुद्धको छलफललाई नयाँ सरकारको लागि छलफल भनेर प्रचार गरियो ।’

यद्यपि, प्रधानमन्त्री ओलीले आफूलाई सुधार नगरेर अहिलेकै शैलीमा अघि बढिरहे सरकार फेरबदल हुनेसक्ने सम्भावना कायम रहेकोमा दाहाल दृढ छन् । ‘सरकारको नेतृत्व पनि नसुध्रिने, जनता आजित भइरहने, अनि प्रतिगामीले फाइदा लिइरहने अवस्था आयो भने राजनीतिमा असम्भव भन्ने कुरा पनि त हुँदैन । तर अहिलेको अवस्थामा चाहिँ हामीले सरकार फेरबदलसम्म सोचेका छैनौँ, प्रतिगामीलाई इन्काउन्टर दिन बृहत जनसभा हुन्छ, त्यसपछि घटनाक्रमले आगामी रणनीति तय हुन्छ’, उनले भने ।

टिप्पणीहरू