कुलमानको नम्बर घटाउनेहरुलाई घाटा

कुलमानको नम्बर घटाउनेहरुलाई घाटा

कसैलाई के को धन्दा, घरज्वाईंलाई खानैको धन्दा ! सिंहदरबार जलेर खरानी भएको स्थिति छ । केही कर्मचारी होटलबाट महङ्गो खाजा मगाएर,मिनरल वाटरले मुख कुल्ला गरिरहेको दृश्य जनआस्थाले कैद गरेको छ ।

जेनजी उपद्रोका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह,शिक्षा,स्वास्थ्य मन्त्रालय पूर्णतः ध्वस्त भएको छ । त्यही क्षतिको विवरण संकलन तथा अनुगमन भन्दै तीन दिनपछि अर्थात गत शुक्रवार बिहान राष्ट्रिय सतर्कता केन्द्रको एउटा टोली सचिव सर्जुकुमार वैध्यको नेतृत्वमा निस्कियो । एकाध घण्टाको अनुगमनपछि यो टोलीका लागि बाहिरबाट खाजाको १५ वटा प्याकेट र एक कार्टुन पानी आइपुग्यो । शिक्षा मन्त्रालय अगाडिकै चौरमा बसेर सचिवसहितका कर्मचारीहरुले खाजा खाए । ५ जना कर्मचारीका लागि १५ प्याकेट किन मगाइयो खुल्न सकेको छैन । जल तथा मौसम विभागको डिजी भएपछि मात्र विवाह गरेका उनकी श्रीमती एभरेष्ट बैंकमा कार्यरत छिन् । उनैलाई बैंक लैजान र ल्याउनका लागि सरकारी गाडी खपत हुने गरेको केन्द्रका कर्मचारीहरु बताउँछन् ।

उता ओली क्याबिनेटका उर्जामन्त्री दिपक खड्काको योजनाअनुसार कार्यसम्पादन मूल्यांकनमा प्रतिशोध साधेर शून्य नम्बर दिने कर्मचारीहरुको भागाभाग हुन लागेको छ । कुलमानलाई कासमूमा शून्य अंक दिएर गत चैत्रमा पदबाट बर्खास्त गरिएको थियो । विकसित पछिल्लो घटनाक्रमपछि उनी उर्जा,शहरी र भौतिक मन्त्रीको जिम्मेवारीसहित सिंहदरबार पुगेका छन् । हिजो कुलमानको कार्यसम्पादन मूल्यांकनका लागि मन्त्री खड्काले सहसचिव जीवछ मण्डलको संयोजकत्वमा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव जङ्गबहादुर डाँगी,प्रशासन महाशाखाका सहसचिव शम्भुप्रसाद मरासिनी (पूर्व सचिव मधुका भाइ),मन्त्रालयकै वरिष्ठ डिभिजनल इन्जिनियर राजु महर्जनलाई राखेर टिम बनाएका थिए ।

शम्भु अहिले पनि कप्रमै छन् भने न्यायाधीश बन्न नसकेका डाँगी मन्त्रालयकै कानुन शाखामा छन् । दीपक खड्का हट्नु केही दिन अघिमात्र जीवछलाई विद्युत विकास विभागको महानिर्देशक बनाइएको छ ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू