नेपाल लिपि र रञ्जना लिपि तालिममा नवौं शताब्दीको चर्चा

नेपाल लिपि र रञ्जना लिपि तालिममा नवौं शताब्दीको चर्चा
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखनसम्बन्धी तालिम दिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत उक्त तालिमको थालनी गरिएको जनाएको छ ।

हिजोबाट शुरु तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा भइरहेको छ । विभागकी प्रमुख कुमारी राईले लिपि लेखन मात्र नभई महानगरको पहिचान भएकाले यसलाई कार्यान्वयनमा ल्याएको बताइन् । 

उनले भनिन्, ‘हरेक विभागका दुई जना अनिवार्य हुने गरी अहिलेका लागि लेख्य सिपसँग सम्बन्धित विषयमा तालिम सञ्चालन गरिएको छ । यसपछि कथ्य सिप विकासको तालिमलाई निरन्तरता दिइनेछ ।’

तालिममा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) र हस्तलिखित दस्तावेज अध्ययन गर्न सिकाइने महानगरले जनाएको छ । नेपाल लिपि गुथिका अध्यक्ष एवम् तालिमका मुख्य प्रशिक्षक अनिल स्थापितका अनुसार नेपाल भाषा र रञ्जना लिपिमा १३ स्वर वर्ण हुन्छन् । 

यसमध्येका छ वटालाई मान स्वर (मुख्य) वर्ण र यसका चार थरी मात्रा रुपमा प्रयोग गरिन्छ । यस्तै, व्यञ्जन वर्ण ४१ वटा हुन्छन् । यी वर्णहरु देवनागरिकमा भएका ३६ वटामा ङ पछाडि ‘ङ्ह’, न पछाडि ‘न्ह’, म पछाडि ‘म्ह’, र पछाडि ‘र्‍ह’ र ल पछाडि ‘ल्ह’ थपिएर ४१ वटा हुने स्थापितले बताए । 

‘नेपाल भाषा ह्रस्वमय भाषा हो । संस्कृतबाट आएका शब्दहरुलाई पनि तद्भव बनाएर प्रयोग गर्न थालिएको छ,’ उनले भने । लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई पहिलो लिपि मानिन्छ । त्यो ब्राह्मी लिपि हो । नवौँ शताब्दीमा नेपाल लिपिको शुरुवात पनि नेपालबाटै भएको थियो । 

दशौँ शताब्दीको प्रारम्भ (नेपाल संवत् २८) को समयमा चिकित्सा विद्यासँग सम्बन्धित नेपाल भाषाको हस्तलिखित पुस्तक ‘लङ्कावतार’ लेखिएको पाइन्छ । त्यसबेला धर्म, वास्तुकला, साहित्य, कर्मकाण्ड, ज्योतिष शास्त्र, सांस्कृतिक क्रियाकलाप तथा परम्परा, चिकित्सा ज्ञान, सहरी योजनाजस्ता विविध विधाका ग्रन्थहरु लेखिएका पाइन्छन् । 

प्रशिक्षक स्थापितका अनुसार राष्ट्रिय अभिलेख संग्रहालयमा करिब १५ हजार र आशा सफूकुथिमा करिब २० हजार यस्ता हस्तलिखित ग्रन्थ सुरक्षित छ । संग्रहालय सरकारी संयन्त्र हो भने सफूकुथि लिपि जोगाउन समुदायस्तरबाट स्थापना गरिएको अभिलेखालय हो । 

लेखन र छपाइमा प्रविधि आएसँगै २०७३ सालदेखि यसलाई युनिकोडमा प्रयोग गर्न थालिएको छ । प्रविधिमार्फत भाषानुवाद गरेर पनि अहिले नेपाल लिपि र रञ्जना लिपि अध्ययन गर्न सकिने भएको छ ।

टिप्पणीहरू