भोजनगृहमा राजावादी भेला, क-कसको बन्यो हाइकमाण्ड ?

भोजनगृहमा राजावादी भेला, क-कसको बन्यो हाइकमाण्ड ?
सुन्नुहोस्

राजावादीहरुलाई एकै ठाउँमा ल्याउन र राजतन्त्र पुनस्र्थापना गर्न राजावादीहरुले आन्दोलन निर्देशन समिति, आन्दोलन परिचालन समिति र सल्लाहकार समिति गठन गरेका छन् । आगामी १५ गतेदेखि मुलुकभर आन्दोलनको आँधीबेहरी ल्याउन आज पञ्चायतकालीन नेता तथा राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय आन्दोलन निर्देशन समिति गठन गरिएको छ ।

डिल्लीबजारस्थित भोजन गृहमा राप्रपका पुराना नेताहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, केशरबहादुर विष्टलगायतसँगको छलफलपछि उक्त निर्णय गरिएको हो । सुवेदी नेतृत्वको समितिमा राणा, लोहनी, विष्टसँगै कमल थापा, राजेन्द्र लिंगदेन, रवीन्द्र मिश्र, अस्मिता भण्डारी, दुर्गा प्रसाईं, हरिबहादुर बस्नेत, रमा सिंह छन् ।

आन्दोलन परिचालन समितिमा संयोजक डा. धवल समशेर राणा तोकिएका छन् । पाँचजना रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ । 

उक्त समितिमा प्रमुख सल्लाहकार डा. जगमान गुरुङ, बुद्धधिराज बज्राचार्य, डा. शास्त्रदत्त पन्त, डा. अहिराज र खेमराज सेंढाईलाई राखिएको छ ।

उनीहरुले मुलुकमा कुशासन फैलिएको, राजनीतिक दल र तिनका नेताहरुप्रति जनताको घृणा बढेको ठहर गरेका छन् । राजसंस्था पुनस्थापना गरेरै छाड्ने राजावादीहरुको अठोट छ ।

टिप्पणीहरू