काेपिला म्याडमलाई बालेनद्वारा यति धेरै छुट

काेपिला म्याडमलाई बालेनद्वारा यति धेरै छुट

कम्प्युटर अपरेटरको पछि पछि वडाध्यक्षहरुको टोली, कस्तो होला उपलब्धि ! काठमाडौं महानगरपालिकाभित्र यतिबेला यो विषयमा मज्जैको बहस भइरहेको छ । आफूलाई जे गर्न पनि छुट छ भन्ठान्ने नगरपिता बालेन्द्र (बालेन) साहले जनप्रतिनिधिको मानमर्यादाको ख्यालै नगरी कर्मचारीको पछि लगाएर विदेश पठाएको पाइएको छ । 

पाँचौं तहकी कम्प्युटर अपरेटरसहित तीन जना वडाध्यक्षको टोली यतिबेला स्पेन भ्रमणमा छन् । बालेनले कोपिला खतिवडाको कमाण्डमा जनप्रतिनिधिलाई विदेश पठाएका हुन् । टोलीमा प्रवक्ता एवं नम्बर १७ का वडाध्यक्ष नविन मानन्धर, सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगत र सुशासन समितिका संयोजक एवं वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी छन् । 

उनीहरु महानगरको खर्चमा त्यता गएका हुन् । ‘मेयरलाई जे गरे पनि सर्वसाधारणले साथ दिन्छन् भन्ने परेको छ । त्यस्तो टोलीले कस्तो उपलब्धि भिœयाउने हो, मेयरले नै जानुन्,’ स्रोतले भन्यो ।

महानगरका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार उनीहरु युनेस्कोले आयोजना गरेको ‘फिल्मको रचनात्मक शहर’ सम्बन्धी कार्यक्रममा सहभागी हुन आयोजककै खर्चमा स्पेन गएका हुन् । भन्छन्, ‘युनेस्कोले काठमाडौंलाई फिल्मको रचनात्मक शहरको रुपमा सूचिकृत गरेको छ । त्यसकै कार्यक्रममा सहभागी हुन उहाँहरु जानुभएको हो । कार्यक्रम नौ दिनको हो । उहाँहरु जानुभएको चार दिन भयो ।’

मेयर बालेन पनि ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन गत जेठमा फ्रान्स पुगेका थिए । यता, मेयरले खतिवडामाथि धेरै नै कृपा बर्साएको भन्दै कर्मचारीहरु रुष्ट बनेका छन् । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट समायोजनमा एक तह बढुवा भएर आएकी खतिवडालाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कानुन विभाग हेर्ने जिम्मेवारी दिएका थिए । उनलाई यतिसम्म छुट थियो कि हाजिर मात्र गरेर घर फर्किए पनि कसैले केही नभन्ने । विभागीय प्रमुखलाई समेत नटेर्ने उनी एकताका सामाजिक सञ्जालमा छाएकी थिइन् । पद कम्प्युटर अपरेटर भए पनि उनले कानुन विभागमा हुँदा सितिमिति कम्प्युटर नछोएको स्रोत बताउँछ । कर्मचारीहरुले उनको कार्यशैलीबारे तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई जानकारी गराएका थिए । तर, उनी खतिवडाबारे केही सुन्नै चाहँदैनथे । उनी अधिकारीसँगै विदेशसमेत गएकी थिइन् । 

उनै खतिवडालाई बालेनले अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयमा ल्याएका छन् । खतिवडाकै गलत सूचना प्रवाहका कारण तीन महिनाअघि उपमेयर सुनिता डंगोलको फ्रान्स भ्रमण कार्यक्रम रोकिएको थियो ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

 

टिप्पणीहरू