अनेक रमिता छ अचेल
लाहुरेभन्दा गुण्टाको फुरफुर धेरै छ, सिंहदरबारतिर । गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीभन्दा पावरफुल छन्, त्यहाँका निजी र स्वकीयहरु ।
मन्त्रीले भेगीय र तुलनात्मक रुपमा सम्मानित धर्मराज जोशीलाई सचिवालयमा राखेका थिए तर उनलाई अध्यागमनमा लगेर त्यहाँ अहिले बद्रि तिवारी आइपुगेका छन् ।
यसअघि दिल्ली दूतावास, डिभिजन सहकारी कार्यालय ललितपुर र अघिल्लोपटक रमेश लेखक मन्त्री हुँदा उनकै टिममा बसेर लाभ लिएका उनी शेरबहादुर प्रम हुँदा पनि सचिवालयमै थिए । यसपटक आरजु देउवामार्फत गृहमन्त्रीको निगरानीका लागि छिरेका हुन् । यतिबेला गृह प्रशासनमा पर्वतेहरु हावी छन् ।
मन्त्रीको निजी सचिव तिवारी, कर्मचारी प्रशासनका हाकिम छवि रिजालदेखि ललितपुरको प्रजिअ बनाएर खटाइएका रमेश ढकालसमेत पर्वते हुन् । ढकाल सहसचिव भएको दुई बर्ष मात्र भयो । तिवारी सचिवालयमा आएलगत्तै अध्यागमनमा ४० जना अधिकृत खटाइएको छ । जबकि त्यहाँ ९ जनाको मात्र दरबन्दी छ । सबै चलखेल तिवारीले गर्दा मन्त्रीको सचिवालयमा कार्यरत ईश्वरी ओझा र जनक भट्टको बिल्लीबाठ भएको छ ।
गृह प्रशासनमा सबैभन्दा दुर्नाम छन्, लालबाबु कवारी । ५० लाखको अडियो काण्डमा मुछिएका उनलाई मापदण्डविपरीत आफ्नै गृह जिल्ला महोत्तरीको सिडियो बनाइएको छ भने बसन्त अधिकारीलाई बारा पठाइएको छ । सहसचिव भएको दुई बर्षमै रमेश ढकाल ललितपुर पुगेका छन् । गृहका सदाबहार सिडियो उमेश ढकाल काभ्रे पुगेका छन् । चितवनबाट इन्द्रदेव यादवलाई गृहको बरण्डामा राखिएको छ ।
भीष्म भुसालले सिडियो बन्ने चाहना राखे तर विपद् प्राधिकरणमा थन्काइएको छ । रामबन्धु सुवेदी, रोशनीकुमारी श्रेष्ठ, तुलसीबहादुर श्रेष्ठ, शशिधर घिमिरेलाई बरण्डामा थन्क्याएर सहसचिवको दरबन्दी रहेको डोटी, बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, दैलेख, सल्यान, प्युठान, अर्घाखाँची, रामेछापमा उपसचिवलाई पठाइएको छ ।
मापदण्डमा आफ्नै गृहजिल्लाको नेतृत्व नदिने भनिएको छ तर बैदेशिक रोजगार विभागमा हुँदा मोजामा हालेर घुस खान खप्पिस नवराज जैसीलाई दैलेख र रामकृष्ण अधिकारीलाई नुवाकोटमै खटाइएको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू