चुनाव खर्च जुटाउन स्वर्णिम वाग्लेद्वारा बैंक खाता सार्वजनिक

चुनाव खर्च जुटाउन स्वर्णिम वाग्लेद्वारा बैंक खाता सार्वजनिक

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अर्थशास्त्री स्वर्णिम वाग्लेले चुनावी खर्च जुटाउन बैंक खाता सार्वजनिक गरेका छन् । 

आउँदो बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका उनले सामाजिक सञ्जालमार्फत आफ्नो बैंक खाता सार्वजनिक गरेका हुन् । उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरै शुभचिन्तकहरुले इच्छा व्यक्त गरेकाले सानिमा बैंकमा खाता खोलिएको उनले बताएका छन् । 

‘तनहुँ–१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरै जना शुभचिन्तकले इच्छा व्यक्त गर्नुभएको छ । यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु’, उनले लेखेका छन्, ‘निर्वाचन आयोगले ३१ लाख रुपैयाँको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारीसहित कानुनबमोजिम गर्नेछु ।’

उपचुनावमा टिकट नपाएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा देउवापत्नी आरजू राणालाई छारस्ट गाली गर्दै पार्टी परित्याग गरेका उनी रास्वपाबाट उम्मेदवार बनेका छन् ।

टिप्पणीहरू