उपचुनावमा आधिकारिक उम्मेदवारलाई जिताउन गठबन्धन दलको संयुक्त अपिल
सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताहरुले संयुक्त वक्तव्य निकालेर बैशाख १० को उपचुनावमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल गरेका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज संयुक्त वक्तव्य जारी गर्दै भोट मागेका हुन् । उनीहरुले गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आ-आफ्नो क्षेत्रमा परिचालित हुन् पार्टी पंतिलाई आह्वान पनि गरेका छन् ।
अपिलमा भनिएको छ, 'गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठवन्धन दलका पार्टी पंति एकीकृत रुपमा परिचालित हुन् आवश्यक छ ।'

त्यसका लागि गठबन्धनमा आवद्ध पार्टीका सदस्य, भातृ एवम् शुभेच्छुक संघ, संस्था/संगठनका सदस्यहरुको सक्रिय योगदान हुनुपर्नेमा जोड दिँदै शीर्ष नेताहरुले आवश्यक समन्वयकारी भूमिका खेल्न आग्रह गरेका छन् । गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उपचुनाव हुने क्षेत्रसँग आवश्यक समन्वय गर्न पनि भनिएको छ ।
सत्तारुढ गठबन्धनले तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन-२ मा जितनारायण श्रेष्ठ र बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव आधिकारिक उम्मेदवार रहेको पनि प्रष्ट पारेको छ ।
टिप्पणीहरू