यी हुन् हिजोको क्याबिनेट बैठकले गरेको निर्णय

यी हुन् हिजोको क्याबिनेट बैठकले गरेको निर्णय

सरकारले मीटरब्याज पीडितहरुको समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । हिजो बसेको क्याबिनेटको बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । 

निर्णय सार्वजनिक गर्नुहुँदै सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले आयोग गठन भएको जानकारी दिनुभयो । आयोगका सदस्यहरुमा पूर्वनायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी नायव महानिरीक्षक उत्तमबाबु सुवेदी छन् । 

त्यस्तै, क्याविनेट बैठकले नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय पनि क्याविनेटले गरेको मन्त्री शर्माले बताउनुभयो । 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने क्याबिनेटको निर्णय छ । 

मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश, २०७९ स्वीकृत गर्ने, मन्त्रिपरिषद्का समिति (राजनीतिक समिति, प्रशासन समिति, विधेयक समिति, सामाजिक समिति र आर्थिक पूर्वाधार समिति) गठन गर्ने निर्णय हिजोको बैठकले गरेको छ । 

क्याविनेट बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिनेलगायतका निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

टिप्पणीहरू