केपी ओलीले भन्नुभो- राष्ट्रिय गानबाट 'प्याप्या' धुन हटाउनु पर्छ, छातीमा हात राख्न पर्दैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको अगाडि बज्ने धुन हटाउनुपर्ने बताउनुभएको छ ।
चुनावी कार्यक्रमका लागि बारा पुग्नुभएका उहाँले आज त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । ओलीले राष्ट्रिय गान अगाडि 'प्याप्या‘ धुन हटाइनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।
'म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु- राष्ट्रिय गान अगाडि 'प्याप्या‘ धुन बजाउँछ । सयौं थुंगा फूलका हामी भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन', अध्यक्ष ओलीले भन्नुभयो, 'र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु । सरकारले यस्ता कुरामा ध्यान दिओस् । राष्ट्रियगान शब्दको धुनमा सुरु हुन्छ र शब्दको धुनमा अन्त्य हुन्छ ।'
त्यस्तै, राष्ट्रिय गान गाउँदा छातीमा हात राख्न पनि नपर्ने ओलीको भनाई छ । 'राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन', उहाँले भन्नुभयो ।
टिप्पणीहरू