उपचुनावमा उम्मेदवारको खर्च सीमा तोकियो, चितवन र बारामा भन्दा तनहुँमा धेरै
निर्वाचन आयोगले आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको बैठकले उम्मेदवारको खर्च सीमा तोकिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गत असोज ३१ को नेपाल राजपत्रमा तोकिएबमोजिम नै हुनेगरी खर्चको सीमा निर्धारण गरिएको बताए । जसमा चितवन निर्वाचन क्षेत्र नम्बर २ तथा बारा क्षेत्र नम्बर १ का लागि २९ लाख र तनहुँ क्षेत्र नम्बर १को हकमा ३१ लाख रुपैयाँ खर्च गर्न पाउने तय गरेको उनले जानकारी दिए ।
त्यस्तै, आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैतिस) दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न पनि पूर्व जानकारी गराएको छ ।
टिप्पणीहरू