कर्मचारीमाथि ‘एक्सन’ लिँदै नेपाल एयरलायन्स

कर्मचारीमाथि ‘एक्सन’ लिँदै नेपाल एयरलायन्स

नेपाल वायुसेवा निगमले एयरलायन्समा चरम लापरवाही देखिन थालेको भन्दै कर्मचारीमाथि कडाइ गर्ने भएको छ ।

हवाई उडानजस्तो संवेदनशील क्षेत्रमा लापरवाही गरिएको गुनासो व्यापक आएपछि एयरलायन्स ‘एक्सन’ मा उत्रिएको हो । निगमको व्यवस्थापकीय कमजोरीका कारण यात्रुहरु द्विविधामा पर्नसक्ने भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै निगमले गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

गत चैत १९ गते काठमाडौं–दुबई जान लागेका यात्रुहरु पाइलटका कारण अलपत्र परेका थिए । अन्तिम समयमा पाइलट बिरामी भएपछि उडानमा ढिलाइ भएको थियो । यस विषयमा निगमका नायव महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा छानबिन समिति गठन गरेर अपरेशन विभागका निर्देशकलाई स्पष्टीकरणसमेत सोधिएको थियो । 

त्यस्तै, मलेसियाको क्वालालाम्पुरमा उडान गर्न समयमै अनुमति पत्र नवीकरण नगर्दा चार्टर्ड उडान गर्नुपरेको थियो । अनुसन्धान गर्दा अपरेसन विभाग र मलेसिया स्टेशनको कमीकमजोरी देखिएपछि एयरलायन्सले जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गरेको थियो । 

निगमले अब उप्रान्त त्यस्ता गल्ती दोहोर्याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘अब उप्रान्त यस्ता किसिमका घटनाहरु नदोहोर्याउन सम्बन्धित कर्मचारीलाई चेतावनी दिइएको छ । छानबिनबाट प्राप्त ‘रुट केस एनालाइसिस’ गरी सुधारात्मक उपायको अवलम्बन एवम् गल्ती गर्नेहरुलाई कारबाही गरिने जानकारी गराइन्छ’, आज जारी विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू