अमेरिकी राजदूतकाे एमसीसी परियोजनाप्रति विशेष सुरक्षा चासो
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले हिजो सिंहदरबार पुगेर एकै दिन तीन जना मन्त्रीसँग छुट्टाछुट्टै भेट गर्नुभयो । उहाँले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
भेटमा राजदूतले उहाँहरुको कार्यकाल सफलताको निम्ति बधाई र शुभकामना दिएको बताइयो । दुई मुलुकबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध, नेपालको दीर्घकालीन समृद्धि र अन्य द्विपक्षीय विषयमा कुराकानी भएको राजदूत डिनले सामाजिक सञ्जालमा जानकारी गराउनुभएको थियो ।
तर, अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री महतसँगको भेटमा अमेरिकी लगानीका परियोजनामध्ये सबैभन्दा धेरै एमसीसीको सुरक्षा चासो देखाउनुभयो । उहाँले एमसीसी परियोजनाको कार्यान्वयन क्रममा स्थानीयस्तरमा विवाद बढेको सन्दर्भ उल्लेख गर्नुभएको बताइन्छ ।
राजदूतको भनाई थियो, ‘स्थानीयस्तरमा विवाद बढ्दै जाँदा सुरक्षाका साथै आयोजना सम्पन्नमा ढिलाईको जोखिम बढ्यो । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
टिप्पणीहरू