संसदमा आज २१ जनाको नाम वाचन

संसदमा आज २१ जनाको नाम वाचन

आज संसदको कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुको मनोनयन हुने भएको छ । २१ सदस्यीय समिति गठन गर्ने हिजोको सर्वदलीय सहमतिबमोजिम सभामुख देवराज घिमिरेले मनोनयन गर्न लागेका हुन् ।

दिउँसो १ बजेको बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । समितिमा सभामुख घिमिरे,उपसभामुख इन्दिरा राना र राजनीतिक दलहरुको प्रतिनिधित्वका आधारमा नेपाली काँग्रेसबाट ६, नेकपा एमालेबाट ५ र माओवादी केन्द्रबाट २ जना सदस्य रहने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा,राप्रपा,एकीकृत समाजवादी,जनमत, लोसपा,आमजनता र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना र स्वतन्त्र सांसदबाट पनि एक जना सदस्य रहनेछन् । आजको बैठकले ती सदस्यको नाम अनुमोदन गर्नेछ ।

आजको बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिँदैछ । लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने सम्भावित कार्यसूची पनि छ ।
 

टिप्पणीहरू