मृतक र भूपूको खबर बुझ्दै हिँडे आइजिपी राजु

मृतक र भूपूको खबर बुझ्दै हिँडे आइजिपी राजु

सशस्त्र प्रहरीको नम्बर ७ बाहिनी अड्डा अत्तरिया,सुदूरपश्चिममा बसोबास गर्दै आएका भूपू सशस्त्र प्रहरी र अमर सशस्त्र प्रहरीका आश्रित परिवार तथा तिनका सन्ततिसंग अन्तक्रिया कार्यक्रम गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम हिजो भएको हो । कार्यक्रममा उनले भूपू र अमर सशस्त्र प्रहरीका आश्रित परिवार तथा तिनका सन्ततिका समस्याबारे जानकारी लिएका थिए । 

संगठनले कल्याणकारी कोषमार्फत भूपू लक्षित तथा अमर प्रहरीका सन्तति लक्षित कार्यक्रम जारी गर्ने उनले बताए । त्यस्तै, ७ नम्बर प्रदेशको पायक पर्ने स्थानमा सशस्त्र प्रहरी स्कूल र अस्पताल खोल्ने घोषणा उनले गरेका छन् । 

कार्यक्रममा भूपू संघका अध्यक्ष रविराज थापा,वरिष्ठ उपाध्यक्ष नारायणबाबु थापा र प्रदेशका अध्यक्ष हर्क रावलले आफ्नो धारणा व्यक्त गरेका थिए । पूर्व बाहिनीपति सशस्त्र प्रहरी महानिरीक्षक दिवाकर केसीले समेत कार्यक्रममा उपस्थित जनाएका थिए । 

प्रदेशस्तरीय भूपू प्रहरी तथा अमर प्रहरीका आश्रित परिवारसंगको भेला पहिलोपटक आयोजना गरिएको हो । आगामी दिनमा संगठनले भूपूहरुको स्पष्ट ठेगानालगायतका डाटाहरु संकलन गरेर सबै प्रदेशमा कार्यक्रम गर्दै जाने नीति लिएको छ । 

यसअघिका नेतृत्वले पूरै बेवास्ता गरेको भन्दै भूपू सैनिकहरुले गुनासो गर्दै आएका थिए । हालका महानिरीक्षक अर्यालले निरीक्षणको क्रममा भूपूहरुलाई भेट्दै आएका छन् । 

त्यस्तै, वीरगतिका आश्रित परिवारको समस्याबारे जानकारी लिने र समाधानका लागि पहल गर्नेलगायतका कार्यलाई उनले तीव्रता दिएका छन् । यसले संगठन र अवकाशप्राप्त सबैमा हौसला जागृत भएको बताइन्छ । 

यता, सशस्त्र प्रहरी अस्पतालबाट गएका डाक्टरसहितको टोलीले त्यहाँ हेल्थ क्याम्पसमेत सञ्चालन गरेको छ ।

 

टिप्पणीहरू