धेरै नेपालीले नामै नसुनेको मुलुक पठाइदिने प्रलोभनमा १२ लाख ठगी

धेरै नेपालीले नामै नसुनेको मुलुक पठाइदिने प्रलोभनमा १२ लाख ठगी

वैदेशिक रोजगारीमा स्लोभाकिया पठाइदिने भन्दै ठग्दै आएका एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका एकराज नेम्वाङलाई प्रहरीले पक्रेको बताइएको छ । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज उनलाई काठमाडौँको गोंगबुबाट नियन्त्रणमा लिएको हो । पाँचथर घर भएका र हाल ललितपुरको नख्खिपोट बस्दै आएका ४६ वर्षीय उनले स्लोभाकियाको प्रतिष्ठित कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिने प्रलोभन देखाउँदै ठगेका थिए ।  

स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र मासिक दुई लाखभन्दा धेरै तलब हुने प्रलोभनमा पीडितबाट पटक पटक गरी १२ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारे र विभागको पत्रपछि प्रहरीले खोजतलास अघि बढाएको हो । 

सोही क्रममा आज पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू