लागूपदार्थ बोक्नेको बिगबिगी, तीन ठाउँबाट सात जना पक्राउ
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट सातजना लागूऔषधसहित समातिएका छन् ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट ३ सय ५० ग्राम गाँजासहित सोही ठाउँ बस्ने काभ्रेका १७ वर्षीय किशोरसहित दुईजनालाई प्रहरीले पक्रेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, झापाकाे कनकाई नगरपालिका-२ जामुनखाडी सिमसारबाट ब्राउनसुगर लिएर हिँडेका तीनजना प्रहरीको नियन्त्रणमा परेका छन् । ५ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर, ३४ हजार रूपैयाँ नगद र तीन वटा मोवाइलसहित उनीहरुलाई प्रहरीले समातेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय भानु दाहाल, ईलाम माई नगरपालिका-८ बस्ने ३९ वर्षीय आश बहादुर लिम्बु र ३२ वर्षीय उमेश राई रहेका छन् ।
विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले भानु दाहालको घर तलासी गर्दा लागूऔषध फेला परेपछि उनीहरू उत्तिनखेरै समातिएको बताइएको छ । साथै, प्रहरीले मे.९ प ९२९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यता, बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पनि ५ ग्राम ६ सय ३० मिलिग्राम ब्राउनसुगरसहित दुईजना प्रहरीको कब्जामा परेका छन् । सोही गाउँपालिका-२ सितापुर बस्ने ३९ वर्षीय रमेश बुढासमेत दुईजना उक्त लागूपदार्थसहित समातिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा लागू पदार्थसहित फेला पारेर पक्रेको हो ।
टिप्पणीहरू