सियारीका अढाई सय घरधुरीलाई पुर्जा वितरण

सियारीका अढाई सय घरधुरीलाई पुर्जा वितरण

-ऋषि भट्टराई 

रुपन्देहीको सियारी गाउँपालिकाले गाउँब्लक अन्तर्गतका २ सय ५० घरधुरीलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ । नापी कार्यालय रुपन्देहीको समन्वयमा गाउँपालिकाले वडा नम्बर २, ४ र ५ का २ सय ५० घरधुरीलाई पुर्जा वितरण गरिएको पालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिएका छन् । 

अध्यक्ष घिमिरले ५ वटा गाउँ ब्लकको दुई सय ५० घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरिएको बताए । उनले लामो समयको पहल र मेहनतपछि सियारीबासीलाई पुर्जा हस्तान्तरण गरिएको उल्लेख गरे ।
 
विगतदेखि जोतभोग गरेका जग्गाधनीले पुर्जा नपाउँदा कुनै पनि बैकिङ कारोबार गर्न नपाएकाहरुले जग्गाधनी पुर्जा प्राप्तीपछि आवश्यक परेको बेलामा बैकिङ कारोबारबाट आफ्नो आवश्यकता पूर्ति गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । २०२५ सालमा नापीमा छुटेका तर शुरुको नापी हुँदाको बखत जोतभोग गरेपनि लालपुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । 

रुपन्देहीमा १ हजार आठ सय गाउँँब्लकको नापी भइसकेको छ । तीमध्ये १ हजार १५० गाउँब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए । सियारीमा १ सय १५ गाउँ ब्लकमध्ये अब ३५ बटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको उनले जानकारी दिए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बाँकी ३५ ब्लकको पुर्जा वितरणको प्रक्रिया अब छिट्टै अगाडि बढाउने बताएका छन् ।

टिप्पणीहरू