रविका नाममा जिउँदोलाई मार्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी

सामाजिक सञ्जाल (टिकटक) मा आफ्नो स्वर्गारोहण भएको तस्बिर पोष्ट गरेपछि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले साइबर ब्यूरोमा हदैसम्म कार्वाहीको मागसहित आज उजुर हालेका छन् । 

आफूसहित दुर्गा प्रसाईं,युवराज सफललगायतका व्यक्तिको तस्बिरलाई श्रद्धाञ्जली भावमा फूलमाला अर्पण गरी शंख बजाउँदै टिकटक बनाएर पोष्ट गरिएपछि उनले आज साइबर ब्यूरोमा उजुर हालेका हुन् । ‘एलपी लोकन तामाङ्ग अन टिकटक’ नामको आइडीमा ‘रवि लामिछाने समर्थक’ उपशीर्षक राखेर सार्वजनिक पोष्टमा हिन्दू समुदायको मृत्यु संस्कार सम्पन्न गर्ने परम्पराअनुसार शोकमा बजाइने एकोहोरो शंखको धुन हालिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूसङ्ग विदेशी नागरिकता हुँदाहुँदै स्वतः खारेज हुने नेपाली नागरिकताका आधारमा गरेका गतिविधिबारे निरन्तर सम्प्रेषित समाचारप्रति असन्तुष्टि  जनाउने नाममा आपत्तिजनक भिडियो सार्वजनिक गर्नेलाई कारबाहीको माग गरिएको छ । उक्त कार्यबाट गाली बेइज्जती र विद्युतीय कारोवार ऐन आकर्षित भएको उल्लेख गर्दै श्रेष्ठले लामिछानेकै निर्देशनबमोजिम विभिन्न व्यक्तिले त्यस्ता सामग्री सम्प्रषेण गर्दै आएको आरोप लगाएका छन् ।

"आफूसहित दुर्गा प्रसाईं,युवराज सफललगायतका व्यक्तिको तस्बिरलाई श्रद्धाञ्जली भावमा फूलमाला अर्पण गरी शंख बजाउँदै टिकटक बनाएर पोष्ट गरिएपछि उनले आज साइबर ब्यूरोमा उजुर हालेका हुन् ।"

‘रवि लामिछानेकै निर्देशनबमोजिम विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा अनेक नामका आइडी, ग्रुप र अभियान चलाउँदै आएका छन् । त्यसक्रममा निजका विरुद्ध समाचार लेख्ने,टिकाटिप्पणी गर्ने वा कुनै किसिमले सुझाव दिनेहरुका हकमा ती सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न सामग्री सम्प्रेषित हुँदै आएको छ’, निवेदनमा भनिएको छ ।  

समाचार प्रकाशन गरेका विषयमा सकारात्मक वा नकारात्मक टिप्पणी हुनु,चर्चा वा विरोध हुनु स्वाभाविक भएको बताउँदै उनले टिप्पणी,चर्चा वा आलोचना संविधान र कानुनको दृष्टिले प्रतिकूल एवं आपत्तिजनक छन् कि छैनन् भनी अध्ययन गर्न जरुरी रहेको स्मरण गराएका छन् । 

जनआस्था साप्ताहिकलगायतका सैयौँ सञ्चार माध्यमले रास्वपाका सभापति लामिछानेले विदेशी नागरिकता हुँदाहुँदै स्वतः खारेजी हुने नेपाली नागरिकताका आधारमा गरेका गतिविधिबारे सप्रमाण निरन्तर समाचार प्रवाह गरिरहेका छन् । सोही क्रममा दुई देशका अलगअलग राहदानी "सदुपयोग" गरेर १७ चोटि जापान,अस्ट्रेलिया,कोरियालगायत मुलुक घुमेको अभिलेख सार्वजनिक भएको छ । श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्ष रहेकै बेला रवि लामिछानेलाई नागरिकताजस्तो सँवेदनशील बिषयमा मजाक नगर्न सल्लाह र निर्देशन दिइएकोमा सो को अटेर गर्दै उनले पत्रकारिताको आचारसंहिता र सीमा नाघेर समर्थकको भीडलाई नियामक निकायहरुबिरुद्ध आक्रमणमा उतारेका थिए । सो को अगुवाइ उनकै कोर टीमको अगुवा भनिएका दिपक बोहोराबाट हुने गरेको थियो ।

समाचारको विषयलाई लिएर लामिछानेले पटकपटक आफ्नो भडाससमेत निकालिसकेका छन् । आफ्नो प्रतिनिधि सभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद गुमेपछि पत्रकार सम्मेलन आयोजना गरेर उनले ‘१२ भाइ’ भन्दै जनआस्थाका सम्पादकको नामसमेत लिएका थिए ।

 

टिप्पणीहरू