गाउँपालिका अध्यक्षमाथि आक्रमण गरेका वडाध्यक्षको घरमा पेस्तोल र गोली
रोल्पाका एक जना वडाध्यक्षको घरबाट पेस्तोल र गोली फेला परेको छ । गंगादेव गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण वलीको घरबाट ती हतियार फेला परेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार वलीले घरको कोठामा लुकाइराखेको अवस्थामा ती हतियार फेला परेको हो । इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको टोलीले लुकाइराखेको अवस्थामा उक्त अवैध हतियार फेला परेको हो ।
प्रहरीका अनुसार इटालीमा बनेको ७.६५ अटो पेस्तोल एक थान र तीन राउन्ड गोली बरामद भएको छ । यसअघि उनले गाउँपालिका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गरेको बताइन्छ । अध्यक्षमाथि आक्रमणसँगै वलीले पालिकाको सवारी साधन पनि तोडफोड गरेका थिए ।
सोही घटनापछि उनलाई गत बिहीबार पक्रेर प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ । वलीलाई जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा १४ दिनको म्याद थपेर अुनसन्धान थालिएको हो ।
टिप्पणीहरू