बलात्कारको नक्कली व्यथा बल्झियो

बलात्कारको नक्कली व्यथा बल्झियो

कसैको मञ्जुरीबिना करकाप,  डरधम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने शारीरिक सम्पर्कलाई बलात्कार भनिन्छ । बलात्कारका घटना निरन्तर बढिरहेको प्रहरी तथ्यांकले देखाउँछ । तर, ती सबै घटना सत्य हुन् कि झुटा, जाँचपड्ताल गर्न निकै मुश्किल छ । केही समययता महिलाले नै बलात्कारलाई व्यक्तिगत रिसइबी साँध्ने माध्यम बनाएको समेत पाइएको छ । यसै क्रममा रोल्पा जिल्ला अदालतले भर्खरै बलात्कारको झुटा आरोप लगाउने तीन जनालाई तीन–तीन महिना कैद सजायँँ सुनाएको छ । 

घटना एक 

आफूलाई जबरजस्ती करणी गरेको भन्दै १७ वर्षीया किशोरी ५३ लिवाङ (न) ले गत असार ३० गते नगरपालिकाको वडा नम्बर ८ बस्ने २० वर्षीय मनोज पुन मगरमाथि हालेको मुद्दा ०७८–सी १–००७१ मा दर्ता भयो । मेवाङस्थित मतिलाल डाँगीको घरमा कोठा लिएर सिटिईभिटीमा बालीविज्ञान पढ्दै आएकी उनले ०७८ चैत २१ गते विवाहको प्रलोभन देखाउँदै जबरजस्ती शारीरिक सम्बन्ध राखेको जाहेरी दिएकी हुन् । यता,  प्रतिवादी मनोजले भने पीडित नाबालिकाले पटक–पटक विवाहका लागि प्रस्ताव गरेको र आफूले इन्कार गर्दा झुटा आरोप लगाएको बयान दिएका छन् । २०७७ सालदेखि सोही क्षेत्रमा कराँते सिकाउँदै आएका उनले पीडितसँग मायाप्रेम नभएको समेत बताएका छन् । 

स्वास्थ्य परीक्षणबाट पीडितको शरीरमा कुनै घाउचोट नदेखिएपछि उनले झुट बोलेको पुष्टि भएको हो । आफूसँग विवाह गर्न नमानेपछि आवेगमा आएर बलात्कारको मुद्दा हालेको पछि उनैले बयान दिइन् । बिना आधार प्रमाण निर्दोष व्यक्तिउपर प्रतिशोध साँधी झुटा मुद्दा हालेर थुनामा राख्ने वातावरण सिर्जना गरेको भन्दै जिल्ला न्यायाधीय खिमानन्द भुसालले उनलाई तीन महिना कैद सजायँ सुनाएको फैसला चैत १२ गते तयार भएको छ ।

घटना दुई 

२०७८ चैत १८ गते रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ४ दलसिङ्गे बस्ने ३४ वर्षीय तुल्सी विरही वलीविरुद्ध बलात्कार मुद्दा दर्ता भयो । आफ्नो अपाङ्ग छोरीलाई बलात्कार गरेको भन्दै बुवा ५३ घर्तिघाउँ (ग) ले मुद्दा दायर गरे । फागुन २८ गते दिउँसो वडा नम्बर ६ मा रहेको पातिहाल्न जंगलमा लगेर वलीले आफ्नो छोरीलाई जबरजस्ती करणी गरेको र पछि दुईटा स्याउ र एक सय रूपैयाँका तीन वटा रिचार्ज किनिदिएको उजुरीमा उल्लेख छ । 

स्वास्थ्य परीक्षणबाट जबरजस्ती करणीको कुनै संकेत नदेखिएपछि झुटा जाहेरी दिएको खुलेको हो । पीडितका बुवाले समेत रिसमा आएर जाहेरी दिएको स्विकारेका छन् । गलत नियतले व्यक्तिको सामाजिक,  आर्थिक र वैयक्तिक जीवनलाई समाप्त पार्न खोजेको भन्दै उनै श्रीमान् भुसालले ५३ घर्तिघाउँ (ग) लाई तीन महिना कैद सजायँ सुनाएका छन् । 

घटना तीन 

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ रिजा बस्ने ३४ वर्षीय मोहन केसीमाथि २०७९ असार २१ गते घर्तिगाउँ (ज) ले आफ्नो १४ वर्षीया छोरी माडी (६) लाई विवाहको प्रलोभन देखाएर बारम्बार करणी गरेको आरोप लगाए । अदालतमा पीडित नाबालिकाले समेत जबरजस्ती करणी नभएको जनाएपछि झुटा जाहेरी दिएको अभियोगमा तीन महिना कैद सजायँ सुनाइएको छ । 
जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काले बलात्कारको झुटो जाहेरीमा उजुरीकर्तालाई नै थुनामा पठाइएको यो घटना पहिलो भएको बताए । 

संगठित भएर झुटा उजुरी दिन थालियो  : अधिवक्ता तिमल्सिना

बलात्कारजस्तो संवेदनशील मुद्दालाई महिलाले हलुका रूपमा लिन थालेको अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना बताउँछन् । योजना बनाएर झुटा मुद्दा लगाउने र फसाउने कार्य केही समययता देखिन थालेको छ । कानुन कमजोर भएकाले पनि यस्तो आपराधिक कार्य बढेको हो’, उनले भने, ‘निर्दोष व्यक्ति अनुसन्धानको अवधिभर थुनामा बस्नुपर्छ । त्यसपछि उसले सफाइ पाए पनि के फाइदा ? इज्जतमा दाग लागिसकेको हुन्छ । त्यसैले राज्य पनि यो विषयमा संवेदनशील हुन जरुरी छ । झुटा जाहेरी लगाउनेलाई कारबाही र निर्दोषलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’
 

टिप्पणीहरू