मधेशमा संगठित अपराधको बिगबिगी, निसानामा बैकिङ क्षेत्र

मधेशमा संगठित अपराधको बिगबिगी, निसानामा बैकिङ क्षेत्र

-सन्तोष बराइली                                   

मधेश प्रदेशका आठ जिल्लामा संगठित अपराध ह्वात्तै बढेको छ । प्रहरीको पछिल्लो तथ्याङ्कले मधेशमा संगठित अपराधको मुद्दाको संख्यामा बढोत्तरी भएको देखाएको छ । 

प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संगठित तथा आर्थिक अपराधका १८ सय ५५ वटा मुद्दा दर्ता गरेको छ । गत आर्थिक वर्षमा संगठित तथा आर्थिक अपराध सम्बन्धी २२ सय ८५ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७७/२०७८ यस सम्बन्धी १५ सय ४३ मुद्दा दर्ता भएको पाइएको छ ।

त्यसैगरी मधेशमा सामाजिक अपराधका मुद्दा दर्ताको लहर पनि बढेको छ । प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षमा सामाजिक अपराध सम्बन्धी १८ सय ५८ मुद्दा दर्ता भएका छन् । त्यस्तै गएको आर्थिक वर्षमा सामाजिक अपराधका २२ सय २८ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७७/२०७८ मा मधेशमा सामाजिक अपराधका १८ सय ३२ वटा मुद्दा दर्ता भएका थिए । 

आत्महत्याको घटना पनि मधेशमा बढेको छ । जसअनुसार चालु आर्थिक वर्षको हालसम्म आत्महत्याका छ सय ४७ घटना भएका छन् । गत आर्थिक वर्षमा एक हजार १८ र आर्थिक वर्ष २०७७/२०७८ मा नौ सय ५९ वटा सोसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ ।

मुद्दाका चाङ

चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामाा प्रदेशका आठ जिल्लामा ६ हजार ७६ मुद्दा दर्ता भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता उमेशबहादुर श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा मधेशमा आठ हजार चार सय ५४ र आर्थिक वर्ष २०७७/२०७८ मा सात हजार दुई सय एक मुद्दा दर्ता भएका छन् । 

यो अवधिमा सिरहामा मात्रै दुई बैंकमा लुटपाट भएको छ । मिर्चैयाको ग्लोबल आईएमई बैकको नौ लाख रूपैयाँ बाटोमै लुटिएको थियो भने धनगढीको गोरखा फाइनान्सको कार्यालयबाट पौने दुई लाख लुटपाट भएको छ । लुटपाटमा संलग्नहरूलाई समातेर जिल्ला प्रहरीले मुद्दा चलाएको बताउँदै एसपी टेकुनन्द ईवा लिम्बू भन्छन्, ‘लुटपाटमा संलग्न फरारहरूको खोजी भइरहेको छ ।’

टिप्पणीहरू