काँग्रेसमा मन्त्रीका लागि हानथाप, मुख्यमन्त्रीलाई देउवाको फोन गएपछि शपथ स्थगित
वरिष्ठ नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै काँग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । आज अपरान्ह ३ बजे हुने भनिएको शपथ काँग्रेसभित्रको किचलोले अन्तिममा आएर रोकिएको हो ।
सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरेर मन्त्री सिफारिसमा न्यायोचित निर्णयका लागि आग्रह गरेपनि उनले नमानेर मनोमानी गरेपछि लफडा चर्किएको बताइन्छ । सोही कारण आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन नगरी सपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ ।
काँग्रेसले हिजो मन्त्रीका लागि तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मासमक्ष सिफारिस गरेको थियो र आजै उनीहरुलाई शपथ खुवाउने तयारी थियो । तर, वरिष्ठ नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै आफूसँग असन्तुष्टि पोखेपछि मुख्यमन्त्रीलाई भनेर देउवाले शपथ रोकाउनु भएको बताइन्छ ।
स्रोतका अनुसार देउवाले मुख्यमन्त्रीलाई जाजरकोटका राजिवविक्रम शाहलगायतलाई मन्त्री बनाउनुपर्ने भएकाले केही दिन कुर्न आग्रह गरेपछि आजको शपथ स्थगित भएको हो ।
काँग्रेसले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रदेशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने भन्दै हिजो नाम सिफारिस गरेको थियो । त्यसमा जाजरकोटका राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायत नेताहरूले असन्तुष्टि जनाएको बुझिएको छ ।
शाहले टेलिफोनमा कुरा गर्दै आफू अन्यायमा परेको बताए । प्रधानमन्त्री प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्रिपरिषद् पुनर्गठनबारे ठोस निर्णय हुने स्रोतले बताएको छ ।
टिप्पणीहरू