फुड जक्सनमा बसेका राष्ट्रवादीहरुले आमहड्ताल गर्ने
राष्ट्रवादी केन्द्र नेपालले साना उद्योगी तथा व्यवसायीहरुको हकहितका पक्षमा राज्यसँग विभिन्न माग राखी बैशाख ११ गतेका लागि घोषणा गरेको आमहड्ताल सफल बनाउन आह्वान गरेको छ ।
आफ्ना माग र आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आज ललितपुरको च्यासलस्थित हासा फुड जक्सनमा बसेको ग्वार्को आन्दोलन परिचालन समितिको बैठकले आम हड्ताललाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अपिल गरेको हो ।
मुलुकको समग्र क्षेत्रमा भइरहेको अन्याय, अत्याचार, भ्रष्टाचार, बेथितिविरुद्ध आगामी बैशाख ११ गते हुने आमहड्तालको सन्दर्भमा आज छलफल भएको सो संस्थाले जनाएको छ । समितिका संयोजक तथा राष्ट्रवादी केन्द्र ललितपुर क्षेत्र नम्बर १ का प्रमुख दुर्गामान ब्यञ्जनकारको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय अध्यक्ष चन्द्रबहादुर थापालगायत उपस्थित थिए ।
राष्ट्रवादी केन्द्रले विद्यमान वित्तिय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने, कालोसूची÷लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेशा÷व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, एकद्वार कर प्रणाली लागू गर्नुको साथै घर, सटर, टहराको वैज्ञानिक भाडादर कायम गर्नुपर्ने जस्ता माग अघि सारेको छ ।
त्यस्तै, लेनदेनअन्तर्गत प्रयोग गरिएका चेकहरू देवानी कानुनअनुसार कार्वाही गरिनुपर्ने, पाँच सय र एक हजारका नोटबन्दी गरी नयाँ नोट सञ्चालन गर्नुपर्ने, स्वदेशी उद्योगी–व्यवसायीहरुलाई कच्चा पदार्थ सुलभ तरिकाले उपलब्ध गराउनुपर्ने, उद्योग सञ्चालन गर्न आवश्यक पूर्वाधार र कामदारलाई तालिमको व्यवस्था राज्यले गर्नुपर्ने, राष्ट्रिय आर्थिक संकटका कारण देखा परेको वित्तिय अराजकतालाई नियन्त्रण गर्दै बचतकर्ताको बचत सुरक्षा र सहकारी लगायत राष्ट्रिय पूँजीलाई राज्यले संरक्षण गर्नुपर्ने लगायतका माग छन् ।
आफूले उठाएका माग पूरा गर्न राज्यलाई दबाब दिने उद्देश्यले ११ गते देशव्यापी हड्ताल कार्यक्रम राखेको राष्ट्रवादी केन्द्रले बताएको छ ।
टिप्पणीहरू