रातो मच्छिन्द्रनाथ रथयात्राकाे तयारीसँगै उपत्यकामा वर्षा

रातो मच्छिन्द्रनाथ रथयात्राकाे  तयारीसँगै उपत्यकामा वर्षा

ललितपुरको रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवता मानिन्छ । आज अपरान्ह मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरेपछि रथयात्रा प्रारम्भ हुने बताइएको छ ।

मच्छिन्द्रनाथको रथयात्राको तयारी गरेलगत्तै हिजोदेखि उपत्यकामा हल्का वर्षा भएको छ । आज आकाश धुम्मिएको छ ।

आज अपरान्ह गुरुजुको पल्टन र नेपाली सेनाको एउटा टुकडीको तोप सलामीपछि रातो मच्छिन्द्रनाथ देवतालाई विधिवत पूजा गरेर रथारोहण गराइने कार्यक्रम रहेको रातो मच्छिन्द्रनाथ गुठीले जनाएको छ । साँझ तःबहालदेखि पुल्चोकसम्म पौराणिक बाजागाजासहित रथारोहण गराइने छ ।

त्यसपछि पुल्चोकदेखि गाः बहालसम्म रथ तानिने छ । भोलि गाः बहालदेखि मंगलबजारसम्म पर्सि मंगलबजारदेखि पाटन सुन्धारासम्म रथ तान्ने कार्यक्रम छ । सुन्धारामा रथलाई दुई दिन राखिन्छ ।

१५ गते सुन्धारादेखि चक्रबहिलसम्म र भोलिपल्ट चक्रबहिलबाट लगनखेलसम्म रथ तानिन्छ । लगनखेल पुगेको भोलिपल्ट राति महाबली पर्व सञ्चालन हुने बताइएको छ ।

लगनखेलबाट नरिवल खसाल्ने स्थान देउलाटोलसम्म रथ तानिन्छ । नरिवलजात्रा र दिवाली पूजाको निम्ति साइत हेर्ने चलन छ । सो दिन ज्योतिषले सोह्रखुट्टे पाटीमा जावलाखेलसम्म रथ तान्ने साइत हेर्छन् । 

नरिवल जात्राको भोलिपल्ट बिहान महिलाले रथ तानेर थटि र चारदोबाटोमा रथ पुर्याउँछन् । जावलाखेल पुर्याउनुभन्दा एक दिन अघि भुजापर्व र नरिवल जात्रा पर्व हुने धार्मिक मान्यता र प्रचलन छ ।

ज्योतिषले निकालेको साइतमा थटिबाट जावलाखेल रथ पुर्याइन्छ । जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाएपछि मच्छिन्द्रनाथको रथयात्रा र जात्रा औपचारिक रुपमा समापन हुन्छ ।

 

टिप्पणीहरू