राष्ट्रवादीहरुको आमहड्तालमा एक हजार र पाँँच सय दरका नोट खारेजीको माग

राष्ट्रवादीहरुको आमहड्तालमा एक हजार र पाँँच सय दरका नोट खारेजीको माग

राष्ट्रवादी केन्द्र नेपालले साना उद्योगी तथा व्यवसायीहरुको हकहितका पक्षमा राज्यसमक्ष विभिन्न माग राख्दै आमहड्ताल थालेको छ । 

बैंकिङ्ग आतंक, मँहगी नियन्त्रणलगायत माग राखेर ललितपुर महानगरपालिका ७, ग्वार्को चोकमा आन्दोलन थालिएको बताइएको छ । केन्द्रका ललितपुर जिल्ला अध्यक्ष अनुप लामिछानेको नेतृत्वमा आयोजित आन्दोलनमा दुई दर्जनको सहभागिता छ । 

आन्दोलनकारीहरुले ‘बैंकको ब्याजदर ६ प्रतिशत कायम गर’, ‘वित्तीय आतंक बन्द गर’, ‘काम गरेर खान दे’, ‘गाडीको पिकआवर टाइम खारेज गर’, ‘पार्किङ्गको सहज व्यवस्था गर’, ‘पाँच सय र हजारको नोट खारेज गर’, लगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् । 

त्यस्तै, उनीहरुले ‘मँहगी र भ्रष्टाचारको अन्त्य गर’, ‘रोजगारको ग्यारेन्टी गर’, ‘वैदिक सनातन धर्मसापेक्ष राष्ट्र कायम गर’, ‘आम हड्ताल सफल पारौं’, ‘राष्ट्रवादी केन्द्र नेपाल जिन्दावाद’ भन्दै चर्का नारासमेत लगाएका थिए । 

मुलुकको समग्र क्षेत्रमा भइरहेको अन्याय, अत्याचार, भ्रष्टाचार, बेथितिविरुद्ध केन्द्रले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको जनाएको छ ।
 

टिप्पणीहरू