पुस्तकालय होस् त विराटनगरको विष्णुमाया जस्तो
-आशिका लम्साल
पुस्तकालय भन्नेबित्तिकै एउटा कोठा वा भवनमा संग्रह गरिएका स्थानमा भेला भएर पुस्तक र पत्रपत्रिका पढ्ने स्थान भन्ने बुझिन्छ । तर, कोशी प्रदेशको विराटनगर महानगरपालिका वडा नम्बर १, पोखरियामा रहेको ‘ऐतिहासिक विष्णुमाया पुस्तकालय’ परम्परागत सोचभन्दा फरक छ ।
किनभने यो पुस्तकालयले पढ्ने र पढाउने अवसर मात्र सिर्जना नगरी समाजलाई शिक्षित बनाउने कार्य पनि गरिरहेको बताइन्छ । हालै ‘पुस्तकालयको वर्तमान आवश्यकता र औचित्यबारे बृहत गोष्ठी’ सम्पन्न गरिएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिकमन्त्री दुर्गा चापागाईंदेखि पुराना वामपन्थी अभियन्ता कमल कोइरालासमेत गोष्ठीमा सहभागी थिए ।
सबैले विष्णुमायाजलाई राष्ट्रिय पुस्तकालय घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थीहरुलाई निःशुल्क माध्यमिक शिक्षा परीक्षाको ट्युसन पढाउँदै आएको विष्णुमायाले आमनागरिकलाई निःशुल्क डिजिटल साक्षरता शिक्षा पनि दिँदै आइरहेको छ । त्यस्तै, सामाजिक कार्यहरु पनि नियमित गर्दै आएको जानकारी दिइएको छ ।
२०७२ देखि हरेक वर्ष सामुदायिक विद्यालयका गरिब विद्यार्थीहरुका लागि निःशुल्क ट्युसन सञ्चालन गर्ने गरेको छ । त्यसैगरी, युवा र वौद्धिक वर्गका साथै विद्यार्थीलक्षित निःशुल्क माक्र्सवादी शिक्षाको कक्षा पनि सञ्चालन गरिएको छ ।
पुस्तकालयले आफ्नै भवनमा ‘जेष्ठ नागरिक हेरचाह केन्द्र’ सञ्चालन गरिरहेको छ ।
आफ्नै ‘इ–लाईब्रेरी’
२०२४ सालमा स्थापना भएको पुस्तकालयले इ–लाईब्रेरी पनि सञ्चालनमा ल्याएको छ । परम्परागत पुस्तकालय इ–लाईब्रेरीमा परिवर्तन भएपछि इन्टरनेटमार्फत् सदस्य बनेर अध्ययन गर्नेको संख्या हवात्तै बढ्न थालेको छ ।
पुस्तकालयले समय सान्दर्भिक साहित्यिक कार्यक्रम र अन्तरक्रियाको आयोजना पनि गर्दै आएको छ । हाल यो पुस्तकालयले आफ्नै भवनमा जेष्ठ नागरिक कक्षा सञ्चालन गरेको छ । त्योसँगै आवाससहितको सुविधासम्पन्न सामुदायिक भवन पनि निर्माण गरिएको छ ।
पहिले प्रगतिशील व्यक्तिहरुको मात्र आउजाउ थलोको रुपमा परिचित विष्णुमाया पुस्तकालयको सम्पर्कमा विदेशमा बस्नेहरु पनि आउन थालेका छन् । इ–लाईब्रेरीमा महत्वपूर्ण पुस्तकहरु संग्रह गर्न थालेपछि विदेशमा बस्ने नेपालीहरु पनि सदस्य बन्ने क्रम बढेको अध्यक्ष केशव गौतमले बताए ।
उनका अनुसार हाल रुस, अमेरिका, अष्टे«लिया, जर्मनी, क्यानडा, जापानलगायत एक दर्जनभन्दा बढी मुलुकमा बस्ने एक सयभन्दा धेरै नेपाली इ–लाईब्रेरी पुस्तकालयको सदस्य बनिसकेका छन् । यस्तै, नेपालमा पनि इ–लाईब्रेरी सदस्य बन्नेहरु बढेका छन् । यो बाहेक सदस्य बनेर पुस्तकालयमै पुगी महत्वपूर्ण पुस्तक पढ्नेको संख्या पनि उत्तिकै छ ।
महायज्ञबाट सहयोग संकलन
पुस्तकालयले महायज्ञ (पुराण) आयोजना गरेर एक करोड २५ लाख रुपैयाँ संकलन गरिसकेको छ । इ–लाइब्रेरीमा हालसम्म महत्वपूर्ण तीन सय वटा किताब संग्रहित छन् । थप महत्वपूर्ण किताबहरु संग्रह गर्ने क्रम चलिरहेको अध्यक्ष गौतम बताउँछन् । रामायण, महाभारतदेखि महाकाव्य अनि विभिन्न प्रगतिशील साहित्यका पुस्तक पढ्न चाहनेलाई इ–लाईब्रेरी वरदान जस्तै बनेको छ ।
वार्षिक एक सय रुपैयाँ शुल्क तिरेर विष्णुमाया इ–लाईब्रेरीको सदस्य बनेपछि उनीहरुलाई पुस्तकालयले कोड नम्बर प्रदान गर्दछ । उक्त कोड नम्बर लगअन गरेपछि जहाँ बसेर पनि आफुले चाहेको पुस्तक इन्टरनेटमार्फत अध्यन गर्न सकिन्छ ।
यता विष्णुमायाको कक्षमै पुगेर पढ्न चाहनेको निम्ति मनग्गे कम्प्युटर र ल्यापटपको व्यवस्था गरिएको छ । यसबाट जुनसुकै बेला सदस्यहरुले निःशुल्क प्रविधि प्रयोग गरी इ–लाईब्रेरीमा अध्ययन गर्न सक्छन् ।
प्रविधिमा सहयोग पुर्याउन पुस्तकालयले एक जना दक्ष आईटी कर्मचारीको व्यवस्था पनि गरेको छ ।
गज्जबको कुरो चाँही एक सय रुपैयाँमा इ–लाईब्रेरीको सदस्य बनेपछि महत्वपूर्ण पुस्तकहरु निःशुल्क रुपमा पढ्न पाइन्छ । पुस्तकहरु डाउनलोड गरेर लैजान वा फोटोकपी समेत गर्न सकिन्छ । विष्णुमायामा अध्ययन गर्न आउनेलाई पुस्तकालयले आफ्नो सामुदायिक भवनमा सर्वसुलभ मूल्यमा अतिथि गृहको समेत व्यवस्था गरिदिएको छ ।
विष्णुमाया पुस्तकालयका स्थापनाका ती दिन
विराटनगरका प्रगतिशील सचेत युवाहरुले २०२२ सालमा नविन योग साहित्यिक समितिको स्थापना गरेका थिए ।
समितिले तत्कालिन प्रधानपञ्च शंकरप्रसाद गौतमको सहयोगमा २०२४ सालमा पुस्तकालय स्थापना गरेको हो । त्यसपछी निःसन्तान महिला विष्णुमाया मिश्रले पुस्तकालयलाई पाँच कठ्ठा जग्गा प्रदान गर्दै ट्रस्ट स्थापना गरिदिइन् ।
योसँगै उनले पाँच बिगाहा जग्गा भोग सञ्चालनका लागि पनि दिइन् । विष्णुमायाको शेषपछि पुस्तकालयले भोगचलन गर्दै आएको पाँच बिगाहा जग्गा अंशियारहरुले लगे । तर, ट्रस्टका रुपमा गइसकेको हुदाँ पाँच कठ्ठा जग्गा भने जोगियो ।
सोही जग्गामा विराटनगर महानगरपालिका वडा नम्बर १ पोखरियामा विष्णुमाया पुस्तकालय सञ्चालनमा आउन सफल भएको थियो । पुस्तकालयको उक्त भवनमा जेष्ठ नागरिक सेवा केन्द्र पनि सञ्चालनमा छ ।
नमूना अध्ययन केन्द्रको योजना
विष्णुमाया सामुदायिक भवन समितिका कोषाध्यक्ष रमानाथ चापागाईंका अनुसार पुस्तकालयका साथै सामुदायिक भवनलाई पनि नमूना अध्ययन र सेवा केन्द्र बनाउन थालिएको छ ।
पुस्तकालयको माथिल्लो भागमा रहेको सुविधा सम्पन्न सेमिनार कक्ष सञ्चालनमा आएको छ । त्यस्तै, परिसरमा रहेको सामुदायिक भवनमा पर्यटकस्तरका होटल सरह १२ वटा कोठा सञ्चालनमा छन् ।
ती कोठा सभा, उत्सव आयोजना गर्नेलाई मात्र उपलब्ध नगराई अध्ययन, अनुसन्धान गर्न चाहने अतिथिहरुलाई समेत प्रदान गरिँदै आइरहेको छ ।
यसैगरी, जेष्ठ नागरिकको हेरचाहको निम्ति जेष्ठ नागरिक ग्रीन सेवा र सेवामूलक सहकारीको पनि पुस्तकालयले सञ्चालन गरेको छ ।
टिप्पणीहरू