सभामुख भेट्न पुगे क्युवाका राजदूत,  अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीविरुद्ध उभिएकोमा धन्यवाद

सभामुख भेट्न पुगे क्युवाका राजदूत,  अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीविरुद्ध उभिएकोमा धन्यवाद

नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । आज बिहानै सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले शिष्टाचार भेट गरेका हुन् । 

भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । त्यसक्रममा सभामुख घिमिरेले क्युवाको संसदको हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरुलाई शुभकामना दिँदै दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारका लागि नेपाल तत्पर रहेको बताउनुभयो । 

त्यस्तै, नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै सभामुख घिमिरेले दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास पनि व्यक्त गर्नुभयो । महाभूकम्पमा क्युवाको चिकित्सक टोलीले पुर्‍याएको सहयोगको उहाँले खुलेर प्रशंसा पनि गर्नुभयो । 

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । अमेरिकाले दुई वर्षअघि क्युवामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति उहाँले सभामुखलाई धन्यवाद दिनुभयो ।

टिप्पणीहरू