लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा काँग्रेसका चौधरी

लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा काँग्रेसका चौधरी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उनलाई प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ नियुक्त गरेका हुन् । 

उनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

चौधरीलाई आठ राजनीतिक दलका ५२ र एक स्वतन्त्र सांसदसहित ५३ प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । 

नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका लिला गिरीले दोस्रोपटक प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

टिप्पणीहरू