साइकल चढ्नेलाई राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा प्रवेश निषेध
विश्व साइकलयात्री पुष्कर शाहले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश नदिइएको बताएका छन् । साइकल चढेकै कारण बसुन्धारास्थित केन्द्रीय कार्यालयमा छिर्न नदिएपछि उनले सामाजिक सञ्जालमार्फत दुःखेसो पोखेका हुन् ।
रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले बोलाएपछि चियागफका लागि आज बिहान बसुन्धारा पुगेका उनलाई साइकल चढेर गएको कारण सुरक्षा गार्डले छिर्न नदिएको शाहले उल्लेख गरेका छन् ।
सगरमाथा आरोहीसमेत रहेका उनले आफ्नो फेसबुकमा ‘घण्टी घरको कथा’ भन्दै स्टाटस लेखेका छन् । पालेले साइकल चढ्नेलाई प्रवेश निषेध रहेको बताएपछि आफू ढोकाबाटै घर फर्किएको उनले बताए । रवि लामिछानेको पार्टी कार्यालयमा साइकल र साइकलयात्रीलाई निषेध गरिए पनि गाडी र मोटरसाइकललाई छिर्न दिएकोमा उनले आपत्ति जनाएका छन् ।
‘माननीय डिपि अर्यालः राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चियागफका लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्ष ज्युलाई नि भेट्नुपर्यो भनेर पूरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घण्टीघर बसुन्धारा पुगें । पालेज्युले साइकललाई घण्टी घरभित्र प्रवेश छैन् भन्नु भो ।’
उनले अगाडि थपेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसें । भित्र मोटरसाइकलचाँहि छिर्न दिइएको रैछ । मैले त्योबारे प्रश्न गरें । पालेले गाडी र मोटरसाइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्कें ।’
त्यस्तै, उपाध्यक्ष अर्यालले पनि आफ्नो फोन नउठाएको शाहको भनाइ छ । ‘माननीय डिपि अर्याललाई फोन गरेंः फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्के । झ्याक्ने साइकले जिन्दगी,’ रोष मिश्रित लवजमा उनले लेखेका छन् ।
टिप्पणीहरू