अन्तर्राष्ट्रिय श्रमिक दिवस : कार्यक्रम गर्न सबैलाई रहर, मजदुरको अवस्थाबारे किन बेखबर ?

अन्तर्राष्ट्रिय श्रमिक दिवस : कार्यक्रम गर्न सबैलाई रहर, मजदुरको अवस्थाबारे किन बेखबर ?

आज मे १ अर्थात्  अन्तर्राष्ट्रिय श्रमिक दिवस । 'मे फस्ट' समेत भनेर चिनिने आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा यौटा उत्सवकै रुपमा लिने गरिन्छ  । श्रमिक हक हित र अधिकारका पक्षमा बिबिध कार्यक्रम गरी विश्वभर १३४ औं श्रमिक दिवस मनाइंदै छ । ८० भन्दा बढी मुलुकमा सार्वजनिक बिदा दिइएको छ ।                                  
                                              
नेपालमा पनि  ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नारासहित सरकारी तथा नीजि स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मजदुर तथा श्रमजीवी वर्गका लागि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने मान्यतासँग श्रमिक दिवसको सम्बन्ध छ । नेपालको संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकमा समावेश गरेको छ । 

श्रम दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारका विभिन्न निकायहरुले शुभकामना सन्देश जारी गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विज्ञप्ति जारी गर्दै श्रमिकको हकअधिकार स्थापना र कार्यान्वयन गर्न हरहमेशा तयार रहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, उनले कामको खोजीमा विदेशिएका नेपाली श्रमिकहरुको रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउने उल्लेख गरेका छन् । 

त्यस्तै, विभिन्न राजनीतिक दल, तीनका भातृ संगठन, मदजुर संगठनहरुले विज्ञप्ति निकालेर श्रमिकको हकअधिकारका लागि प्रतिबद्ध रहने घोषणा गरेका छन् । श्रमिक दिवसलाई यसरी उत्सवका रुपमा मनाईरहँदा श्रमिक वर्ग भने यसबारे बेखबरजस्तै छ । श्रमिक दिवसका अवसरमा हुने ठूला ठूला घोषणा, भाषण र भव्य कार्यक्रमले गरिखाने बर्गलाई छुन सकेको छैन । उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसकेको आम गुनासो छ ।

नेपालको हकमा श्रमिकहरुले आफूले काम गरेअनुसार पारिश्रमिकसमेत पाउन सकेका छैनन् । यस्तोमा दिवसको के औचित्य ? वास्तविकता खोताल्ने हो भने श्रम मन्त्रालयसमेत श्रमिकको अवस्थाबारे अनविज्ञ छ । श्रमिकको हक अधिकारको रक्षा भएको छ कि छैन् ? मन्त्रालयलाई थाहा छैन् । मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेती श्रमिकको अधिकार संरक्षण गर्नका लागि मन्त्रालयले हरसम्भव प्रयत्न गरिरहेको बताउँछन् । 

श्रमसँग सम्बन्धित विभिन्न निकाय स्थापना गरिएको उल्लेख गर्दै उनले हरेक निकायले हातेमालो गरेर श्रमिकको अवस्था सुधार्नतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार श्रम मन्त्रालयले श्रमिकको पक्षमा थुप्रै ऐनकानुन बनाएको छ । श्रम कार्यालय र ट्रेड युनियनहरुले त्यसको कार्यान्वयन र अनुगमन गरिरहेको सहायक प्रवक्ता उप्रेतीको दाबी छ । 

त्यस्तै, उनले श्रम दिवसको अवसरमा मन्त्रालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । श्रम व्यवस्थापनका लागि रोजगारदाताहरुलाई आह्वानसमेत गरिएको उनी बताउँछन् । 

‘आज मन्त्रालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । श्रमिकको अवस्था सुधार्नका लागि हामीले विभिन्न विषयमा छलफल गरौं । श्रम व्यवस्थापन र रोजगारीका लागि रोजगारदाता कम्पनीहरुलाई आह्वान गरेका छौं’, उनले भने,‘अन्य निकायले पनि विभिन्न कार्यक्रम गरेर श्रमिक दिवस मनाएका छन् ।’

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पनि विशेष कार्यक्रमको आयोजना गरेर श्रमिक दिवस मनाएको छ । बिहानदेखि र्याली निकालेको जिफन्टले राजधानीको भृकुटीमण्डपमा भेला भएर ‘संगठित होऔं, परिचालित होऔं, प्रशिक्षित होऔं, अधिकारका लागि हस्तक्षप गरौं’ भन्ने नाराका साथ यो दिवस मनाएको हो ।

त्यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतले पनि काठमाडौँमा कार्यक्रम गरि अन्तराष्ट्रिय श्रमिक दिवस भव्य रुपमा मनाएका छन् ।

टिप्पणीहरू