मन्त्री उपस्थित बैठकमा नेपाल वायुसेवाका कर्मचारीको कार्यक्षमता वर्गीकरण
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय स्टेशनमा कार्यरत कार्यालय प्रमुखहरुसँग आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमबारे छलफल गरेको छ । त्यसअघि चालु आर्थिक वर्षको बजेटको समीक्षा गरिएको बताइएको छ ।
निगमको प्रधान कार्यालयमा बसेको बैठकको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुभएको थियो । मन्त्रीले सबै कर्मचारीलाई निगमको समग्र उत्थानमा अनुशासित, पारदर्शी एवं सकारात्मक ढंगले उच्च मनोबल राखेर काम गर्न निर्देशन दिनुभएको जनाइएको छ ।
मन्त्रालयका सचिव सुरेश अधिकारीले निगमलाई आर्थिक तथा व्यवसायिक सबलीकरणको खाँचो रहेकोतर्फ औंल्याउनुभएको थियो । सचिव अधिकारीले भन्नुभयो, ‘निगमलाई आर्थिक तथा व्यवसायिक सबलीकरणको जरुरी छ । हालै गठित समितिले निगमलाई सुधारको बाटोमा लैजान सकारात्मक सुझाव दिनेमा विश्वस्त छु ।’
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सबै स्टेशन प्रमुखहरुलाई सकारात्मक कार्यशैली अपनाउन, ग्राहकको सेवामा ध्यान दिन निर्देशन गर्नुभएको बताइन्छ । उहाँले पुरस्कार र दण्ड सजायको प्रावधान देखिनेगरी लागु हुनुपर्नेमा जोड दिनुभएको छ ।
हिजो बसेको समीक्षा बैठकमा आर्थिक वर्ष २०७९–८० को आठ महिनामा सबैभन्दा बढी आम्दानी गरेर जापान स्टेशन प्रथम भएको छ । त्यहाँको स्टेशन प्रमुख तिलकप्रसाद लामिछाने हुन् । योजना तथा कार्यक्रम प्रस्तुतीमा दोहा स्टेशन प्रमुख ज्ञानबहादुर अर्याल, बैंग्लोर स्टेशन प्रमुख रितादेवी राई र दुबई स्टेशन प्रमुख अस्मिता सुवेदी क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् ।

टिप्पणीहरू