सौन्दर्यको नाममा अन्धाधुन्ध तार नकाट्न सिंहदरबारको आग्रह
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शहरी सौन्दर्यको नाममा अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई अनुरोध गरेको छ । मन्त्रालयले मुलुकभरका स्थानीय तहलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले जडान गरेको केबल नेटवर्कका तारहरु जथाभावी नकाट्न आग्रह गरेको हो ।
काठमाडौँ महानगरपालिकालगायत विभिन्न स्थानीय तहले शहरी सौन्दर्यता कायम गराउने भन्दै केबल नेटवर्कका तारहरु बेपर्वाह ढंगले काट्न थालेपछि नेपाल टेलिकमले समन्वय गरिदिन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बैशाख ८ गते पत्रमार्फत् सहयोगको आग्रह गरेको थियो । सोहीबमोजिम सञ्चार मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्थानीय तहसँग समन्वय गर्दै समस्या समाधान गर्न भनेको हो ।
टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तहले शहरी सौन्दर्यता कायम गराउने उद्देश्यले दूरसञ्चार सेवा सञ्चालन सम्बन्धी कम्पनीले विस्तार गरेको केबल नेटवर्कहरु अन्धाधुन्ध रुपमा काटिदिने क्रम बढिरहेको बताउँछन् ।
यसबाट कम्पनीले उपलब्ध गराएका टेलिफोन, इन्टरनेट एवम् टेलिभिजन सेवा अवरुद्ध भई सेवाग्राही सेवाबाट वञ्चित हुनुका साथै केबल नेटवर्क सेवा पुनःस्थापनामा प्रयोग हुने सामानबाट धेरै विदेशी मुद्रा खर्च हुनेतर्फ ध्यान दिन आग्रह गरेको छ ।
सार्वजनिक विकास निर्माणलगायत कार्यमा सेवा प्रदायक कम्पनीका स्थानीय कार्यालयसँग समन्वय गर्नुपर्ने टेलिकमले जनाएको छ ।
टिप्पणीहरू