मनपरी उत्खनन् गर्नेहरूको हातबाट झण्डै मारिएनन् हाकिम, मेयरको मौनता शंकास्पद

मनपरी उत्खनन् गर्नेहरूको हातबाट झण्डै मारिएनन् हाकिम, मेयरको मौनता शंकास्पद

-सन्तोष बराइली

आफ्नै नगरपालिकामा कार्यरत कर्मचारीमाथि ज्यानै लिने तहको सांघातिक हमला हुँदा भत्सर्नासमेत गर्न नसक्ने मेयर मधेश प्रदेशमा फेला परेका छन् । उनी हुन्, सिराहाको धनगढीमाई नगरपालिकाकाका प्रमुख शिवशंकर महतो । उनी गत स्थानीय तहको चुनावमा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।

घटना बैशाख १५ गते शुक्रबारको हो । दिउँसो पौने १ बजे दुई व्यक्ति महेन्द्र राजमार्गसँगै जोडिएको धनगढीमाई नगर कार्यालयको माथिल्लो तल्लामा रहेको प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेको कार्यकक्षमा प्रवेश गर्छन् । कार्यकक्षमा छिर्नासाथ बगालेमाथि हातपात हुन्छ । छेउमै रहेका नगरप्रहरीले आक्रमण प्रयासको प्रतिकार गर्छन् । घम्साघम्सीबीच दुवै आक्रमणकारी एकै स्वरमा गर्जिंदै भन्छन् : अरूले सित्तैंमा उत्खनन् गरेर गिट्टी ग्राब्रेल लैजान पाउने, हामीले चाहिँ पैसा तिरेर पनि किन नपाउने ! आज छोडिँदैन, यसलाई ठोकिन्छ । 
 
त्यसबेलासम्म दुई आक्रमणकारीको पञ्जामा परिसकेका प्रमुख प्रशासकीय अधिकृत बगालेको होस हवास उडिसकेको हुन्छ । सक्ने भए ज्यान जोगाउन उनी झ्यालबाटै हाम फाल्थे होलान् । तर, ढल्कँदो उमेरका कारण होला उनले त्यो हिम्मत गरेनन् । नगर प्रहरी र आक्रमणकारीबीच छिनाझम्टी चलिरहँदा अर्का एक व्यक्तिको त्यहाँ प्रवेश हुन्छ । कार्यकक्षमा प्रवेश गर्नसाथ उनले ढोकाको चुक्कुल लगाउँछन् र टि–टेबुलमा राखिएको मिनरल वाटरको बोतलले प्रमुख प्रशासकीय अधिकृत बगालेलाई परैबाट प्रहार गर्छन् ।

पानीको बोतलले बगालेलाई लाग्दैन । उनलाई कार्यकक्षमै रहेका एक सेवाग्राहीले जोगाउँछन् । ७ मिनेटको ताण्डव नृत्य सकेर उनीहरु त्यहाँबाट बाहिरिन्छन् । चिटचिट पसिना पुछ्दै बगाले लामो सास तान्दै आफ्नो कुर्सीमा बस्छन् । कार्यपालिका परिसर सन्नाटामय हुन्छ । सबै कर्मचारीको ओठ र तालु सुकिसकेको देखिन्छ ।

धनगढीमाई नगर कार्यालयमा घटेको यो घटना मधेश प्रदेशमा गिट्टी ग्रावेलको अवैध उत्खनन्मा संलग्न माफियाहरूको अराजकताको एउटा दृष्टान्तमात्रै हो । पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत बगालेको कार्यकक्षमा प्रवेश गरेर आक्रमण प्रयास गर्ने नेपालका नामुद क्रसर व्यवसायी बेचन साह हुन् भने सँगै छिरेका अर्का धनगढीमाई नगरपालिकाका रामएकवाल यादव (बतवा) हुन् । त्यस्तै, ढोकाको चुकुल लगाएर बगालेमाथि पानीको बोतलले हान्ने व्यक्ति धनगढीमाई नगरपालिका–१२ का महेश अधिकारी हुन् ।

                                                    किन भयो आक्रमण प्रयास ?

मधेश प्रदेशमा नदीजन्य सामाग्री उत्खनन्का महारथी नै मानिन्छन् बेचन शर्मा । धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केवर छेउको हरिहरपुरमा उनले क्रसर उद्योगको नाममा गिट्टी ग्राबेल संकलन केन्द्र खोलेका छन् । खोला उत्खनन् रोक्ने महाअभियानमा होमिएका ढल्केवरका दिलिप महतो हत्याकाण्डमा बेचनको संलग्नता रहेको चर्चा अझै ताजै छ ।

पछिल्ला दिनमा गिट्टीग्राबेल उत्खनन्मा घाटा बेहोरिरहेका उनले कमलामाई सप्लायर्समार्फत् महेन्द्र राजमार्गको कमला–कञ्चनपुर सडकखण्ड स्तरोन्नती गरिरहेको चिनियाँ रेलवेलाई ती सामाग्री बेचिरहेका छन् । धनगढीमाई नगरपालिकामा व्यक्तिको जग्गामा उत्खनन् गरिरहेका छन् । पटक–पटकको लिखित ताकेता गर्दा पनि उत्खनन् बापत नगरपालिकालाई बुझाउनुपर्ने कर नतिरेपछि प्रमुख प्रशासकीय अधिकृत बगालेले उत्खननमा रोक लगाएका थिए । त्यसैले बेचनको समूहले उनीमाथि आक्रमण प्रयास गरेको बताइन्छ ।
 
बगालेमाथिको आक्रमणविरूद्व स्थानीय तह कर्मचारी युनियन, सिरहाले नगर कार्यापालिकाको कामकारबाही बन्द गरेको छ भने उपमेयर सङ्गिताकुमारी चौधरीले घटनाको विज्ञप्तिमार्फत भत्सर्ना गरेकी छन् । तर, मेयर महतोले भने शंकास्पद मौनता साँधेका छन् ।
समयअभावका कारण विज्ञप्ति निकाल्न नपाएको उनको प्रतिक्रिया छ । यता घटनाबारे बेलिबिस्तार सुनाएका प्रमुख प्रशासकीय अधिकृत बगालेले आक्रमण प्रयासपछि आफू मानसिक तनावका कारण काम गर्नसक्ने अवस्थामा नरहेको बताउँदै भने : ज्यानको बाजी लगाएर कसरी काम गर्न सकिएला र !

यसैबीच सत्तारूढ नेपाली काँग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टीलगायत दलका स्थानीय नेताहरूले पनि संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेका छन् ।

टिप्पणीहरू