व्यक्ति हत्याका आरोपित एमाले सांसद निलम्बित

व्यक्ति हत्याका आरोपित एमाले सांसद निलम्बित

कर्तव्य ज्यान मुद्दाका आरोपित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीलाई निलम्बन गर्नुभएको बताइएको छ । 

प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँसेर सांसद कोइरीलाई निलम्बन गरिएको जानकारी गराएको छ । यसअघि सोमबार प्रहरीले हत्या आरोपी कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै संसद सचिवालयलाई पत्र पठाएको थियो । 

महोत्तरी–१ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विक हत्याको घटनाका अभियुक्त हुन् । २०७७ मा जनकपुर उच्च अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गरी भागेका उनी अभियोग बोकेरै चुनावमा उठेर निर्वाचित भएका हुन् । 

गत मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखैमा जसपा परित्याग गरी बलियो पार्टी एमाले छिरेर संसदीय निर्वाचन जितेका उनी त्यसैको बलमा सांसदको सपथग्रहण गर्न र प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए । चार तहको सुरक्षा घेरा छिचोलेर संसद बैठकमा पुगेका कोइरी प्रहरीको फरार सूचीमा छन् । 

सभामुख घिमिरेले बैशाख १५ गते बसेको प्रतिनिधिसभा बैठकमा संसदमा अनुपस्थित सांसदहरुको नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई ‘बिरामी भएको’ बताएपछि सत्तापक्षका सांसदहरुले कडा प्रतिवाद गरेका थिए । त्यसपछि सभामुखले कोइरीलाई कानुनबमोजिम कारवाही गर्ने प्रतिबद्धता जनाएपछि संसद् अधिवेशनसमेत अन्त्य भएको थियो ।

टिप्पणीहरू