कर नतिरेका ५५ कम्पनीको नाम सार्वजनिक
सरकारले तोकिएको समयमा कर दाखिला नगरेका ५५ कम्पनीको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व कार्यालय चावहिलले बक्यौता कर दाखिला नगरेका ५५ कम्पनीलाई १५ दिनभित्र नियमानुसारको रकम तिर्न अल्टिमेटम दिएको छ ।
बक्यौता कर रकम दाखिला गर्न पटक–पटक सम्पर्क तथा अनुरोध गरेपनि अटेरी गरेको भन्दै १५ दिनभित्र कार्यालयमा उपस्थित हुन ती कम्पनीलाई आग्रह गरिएको हो । आज प्रकाशित सूचनामा अन्थया कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।
कार्यालयका अनुसार धेरैजसो कम्पनीले मूल्य अभिवृद्धि कर तिरेका छ्रैनन् भने केहीले आयकर नतिरेका हुन् । मूल्य अभिवृद्धि कर नतिरेका कम्पनीमा हिमालय ईलेक्ट्रिकल्स इन्जिनियरिंग, अम्ब्रेला मल्टिपर्पोज बिजनेश प्रालि, ऋतु सप्लायर्स एण्ड सेक्युरिटी सर्भिस प्रालि, सुनकोशी, खानी, थोटुंग जेभी, डिलाईट सेक्युरिटी सर्भिस प्रालिलगायत छन् ।
त्यस्तै, आयकर नतिरेकामा जानकी अटो वर्क्स, दिभ्या इम्पेक्स, नागार्जुना लामा कन्स्ट्रक्सन जेभी, वाईटी ट्रेडर्स प्रालि, सुदामा टे्ेडिङ्ग कम्पनी प्रालि, पारखी फेसन प्रालि, बलभद्र सेक्युरिटी सर्भिस प्रालिलगायत रहेको बताइएको छ ।
आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा वा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा तोकिएको समय सीमाभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृतिमा कर अधिकृतले व्यवस्था बमोजिमका कुनै वा सबै प्रकारको प्रक्रिया अवलम्बन गरी कर असुल उपर गर्न पाउने प्रावधान छ ।
सोही आधारमा कार्यालयले तोकिएको समय सीमाभित्र ती कम्पनीलाई बक्यौता कर रकम दाखिला गर्न वा दाखिला गरेको भए सोको प्रमाण पेश गरी बक्यौता फरफारक गर्न सम्झाएको जानकारी दिइएको छ ।
टिप्पणीहरू