झोलामा ब्राउनसुगर हालेर जहाज चड्न लागेका दुई युवती एयरपोर्टबाट पक्राउ
झापाको भद्रपुर विमानस्थलबाट प्रहरीले लागूऔषधसहित दुई युवतीलाई नियन्त्रणमा लिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भई हाल झापाको मेचीनगर बस्दै आएकी २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ ब्राउनसुगरसहित प्रहरी हिरासतमा पुगेका हुन् ।
भद्रपुर विमानस्थलमा खटिएको प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौँ जान लागेका उनीहरुमाथि शंका लागेपछि चेकजाँच गरेको थियो । त्यसैक्रममा उनीहरुको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट उक्त ब्राउनसुगर, नेपाली नागरिकताको प्रमाणपत्र र एउटा मोबाइल बरामद गरिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू