संसदमा विपक्षीहरुले प्रचण्डलाई हायलकायल बनाउने

संसदमा विपक्षीहरुले प्रचण्डलाई हायलकायल बनाउने

आज दिउँसो ४ बजेदेखि संसदको बजेट अर्थात् वर्षे अधिवेशन प्रारम्भ हुँदैछ । राष्ट्रपतिबाट प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान भैसकेको छ । 

हिउँदे अधिवेशन १० दिनअघि सकिएको थियो । तर अब हुने संसद बैठकमा विपक्षी दलहरुले सशक्त अवरोध गर्ने योजना बनाएको बताइन्छ । 

नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुध्द पक्राउ पुर्जी जारी गरिएको छ । उक्त काण्डमा नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत पनि संलग्न भएको आरोप लागेपछि विपक्षीले सोही नामलाई संसद अवरोधको मसला बनाउन लागेका हुन् ।

खाँण लगायतको नाम पनि नक्कली शरणार्थी प्रकरणको छानबिनमा नहालेसम्म एमाले,राप्रपा,रास्वपाले संसदमा अवरोध गर्ने सहमति गरेका हुन् । उनीहरुले माओवादी शिविरमा उपलब्ध गराइएको तत्कालीन अरबौं रुपैयाँ घोटालालाई पनि उठाउने भएका छन् । 

त्यसैगरी केही न्यायाधीशको नामै लिएर भ्रष्टाचारी भन्दै संसदमा हंगामा मच्चाउने तयारी गरिएको स्रोतको दाबी छ । उनीहरुले सदन चल्न नदिने,बजेट,नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्न नदिने योजना बुनेका हुन् ।
 
यता,नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि नक्कली शरणार्थी प्रकरणमा कानुनबमोजिम छानबिन हुनुपर्ने कुरो उठाएका छन् । उनले छानबिनमा आफ्नो पार्टीको पूर्ण समर्थन हुने जानकारी दिएका छन् । ‘कहिँ पनि अवरोध हुँदैन,’ उनले आश्वस्त तुल्याएका छन् ।

अर्का महामन्त्री गगन थापाले पनि भ्रष्टाचारीमाथि कडाईका साथ छानबिन गर्नुपर्ने आवाज उठाइसकेका छन् ।

टिप्पणीहरू