माननीयहरु जब नेपाली भाषा नबुझेरै सँसदमा कराउन थाल्छन्
'जान्नेलाई छान्ने' पार्टीका सभापतिसँग चुनाव उठ्न नेपाली नागरिकता चाहिन्छ भन्ने न्युनतम ज्ञान नहुँदा राज्यको ढुकुटीबाट करोडौँ खर्चिएर चितवन-२ मा उपनिर्वाचन गर्नुपर्यो । अहिले सोही पार्टीका सांसदहरुले संसदमा नेपाली शब्द नबुझेपछि बबाल भएको छ ।
हिजोको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तोसिमा कार्कीतर्फ इंगित गर्दै 'विदुषी माननीय' भनेर सम्बोधन गरेकी थिइन् । तर,विद्वानको स्त्री लिंगीय शव्द 'विदुषी' लाई त्यस पार्टीका माननीयहरुले विदेशी बुझेपछि सदनमा लफडा चर्कियो ।
रास्वपाका एकजना सांसदले सभामुखसँग बोल्न समय लिएर आक्रोशित हुँदै सोधे, 'अनुभवी र हामीभन्दा अग्रज माननीयले सम्मानित सदनमा बोल्दा शब्द चयन पनि सम्मानित हुनुपर्ने हो । भर्खरै बोल्ने माननीयज्यूले नयाँ पुस्ताका विदेशी सांसद भनेर कसलाई भन्न खोज्नुभएको हो ? कसलाई इंगित गर्न खोजिएको हो । के हाम्रो संविधानले विदेशीलाई पनि सांसद बनाएर यो सदनमा ल्याएको छ ?'
सांसद न्यौपानेले बोलेको विदुषी शब्द संसदको रेकर्डबाट हटाउन उनले माग गर्दा जान्नेलाई छान्ने पार्टीका माननीयहरुले ढ्यापढ्याप बजाएर समर्थनसमेत गर्न भ्याए ।
सांसद न्यौपानेले आफ्नो लिखित भाषणमा भनेकी थिइन्, 'नयाँ पुस्ताका विदुषी माननीयज्यूहरु गलतलाई गलत र सहीलाई सही भनौं,आफूले बोलेको बोलीको बाँण आफैलाई लाग्ला भन्ने ख्याल गरौँ ।' त्यसपछि नियमापत्ति गर्दै रास्वपा सांसदहरुले 'कसलाई विदेशी सांसद भनेको' भन्दै पाखुरा सुर्कन थालिहाले ।
त्यसपछि काँग्रेस सांसद न्यौपाने प्रतिवादमा उत्रिइन् । आफ्नो लिखित भाषण देखाउँदै भनिन्, 'मैले विदुषी माननीयज्यू भनेर सम्मानका साथ बोलेको कुरा कसरी विदेशी भयो !'
खासमा भएको के थियो भने अघिल्लो दिन ललितपुर-३ बाट चुनाव जितेकी तोसिमा कार्कीले काँग्रेस सभापति शेरबहादुर देउवा-पत्नी तथा प्रतिनिधिसभा सदस्य आरजू राणालाई लक्षित गरी भ्रष्टाचारमा लिङ्ग नहुने भन्दै 'मीठो भाषण' सुनाएकी थिइन् । त्यसअघि आरजुले 'गणतन्त्रको पम्फादेवी' भनेर आफूविरुध्द नियोजित आक्रमण भैरहेको भन्दै महिला भएकै कारण यस्तो सहनुपरेको गुनासो गरेकी थिइन् ।
आरजुलाई जवाफ दिएकी तोसिमालाई जवाफ फर्काउन लिखित भाषण लिएर संसदमा प्रस्तुत् भएकी सांसद न्यौपानेले विदुषी भनेर व्यंग गरेकी हुन् । तर, बोल्न सिपालु भनिएका रवि लामिछानेका सांसदहरूले नेपाली शब्दकाे अर्थ नै बुझेनन् । 'भेडाे' शैलीमा नेपाली शब्दकाे अर्थ नबुझेरै पररर... ताली पड्काउने उनीहरु खासमा अरुले अन्तै लेखिदिएकाे भाषण संसदमा पढेर सुनाउने रहेछन् भन्ने कुरा हिजोको यो घटनाबाट पुष्टि भएको छ ।
रास्वपाका सांसदहरुलाई नेपाली भाषा बुझ्नै अप्ठ्यारो परेको भन्दै कांग्रेसका एक सांसदले अंग्रेजी भाषामा पनि बोल्ने व्यवस्था मिलाउन पर्ने भएछ भनी व्यंग गरेको पनि सुनियो ।
टिप्पणीहरू