खडेरी चर्केपछि काठमाडौंका धारामा पानी बन्द
आगामी जेठ १ गतेदेखि मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको हेडवक्र्स एवं सुरुङ्गको बाँकी मर्मत कार्य अघि बढाएपछि पानी बन्द गर्न लागिएको बताइएको छ ।
समितिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई जानकारी गराउँदै पानी पथान्तरण कार्य स्थगन गर्ने जानकारी दिएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त हेडवक्र्सलगायतका संरचनाहरु मर्मत गर्नुपर्ने भएपछि पानी बन्द गर्न लागिएको हो ।
‘क्षतिग्रस्त हेडवक्र्सलगायत संरचनाको अल्पमध्यकालिक पानी पथान्तरणका लागि आवश्यक उपायका लागि गरिनुपर्ने निर्माण सुधारका कार्य गर्न ८ देखि १५ दिनको कार्ययोजनासहित परामर्शदाताबाट पानी पथान्तरण सो अवधिभर स्थगन गरी कार्यान्वयन गरिनुपर्ने भएकाले जेठ १, २०८० देखि उपरोक्तानुसारको कार्यहरु सम्पादनका लागि चालु मेलम्ची पथान्तरण सो अवधिभरका लागि स्थगन गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ पत्राचारमा भनिएको छ ।
केयुकेएलले आज सूचना जारी गर्दै पानी भण्डारण गरेर राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तै, केयुकेएलले आउँदो आइतबार नयाँ खानेपानी वितरण तालिका सार्वजनिक गर्ने जानकारी पनि दिएको छ ।
‘मेलम्ची खानेपानी विकास समितिले यही मिति २०८० जेठ १ गतेदेखि सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानीको मुहान र टनेल मर्मतसम्भारको प्राविधिक काम गर्ने भएकाले जेठ १ गतेदेखि मेलम्ची खानेपानी वितरण बन्द हुने जानकारी गराउँदछौं । उपभोक्ता महानुभावहरुले आजैदेखि पानी भण्डारण गर्नुहुन अनुरोध छ’, सूचनामा उल्लेख छ ।
टिप्पणीहरू