लाइसेन्स सक्कली,चालक नक्कली

लाइसेन्स सक्कली,चालक नक्कली

दुर्घटनापछि आफू नै सवारी साधनको चालक रहेको बताउँदै नक्कली चालकलाई बचाउन प्रहरीसामु उपस्थित भएका एक जनालाई प्रहरीले पक्रेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६, पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेत उक्त नौटंकीपछि प्रहरीको फन्दामा परेका छन् । 

उनलाई पक्रेर प्रहरीले आवश्यक छानबिन र अनुसन्धान अघि बढाएको छ । घटना विवरणअनुसार सोमबार राति २ बजे हेलम्बु गाउँपालिका वडा नम्बर २ ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनी ट्रकले ठक्कर दिँदा स्थानीय ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि घटनास्थलबाट  मिनीट्रक चालक फरार भएका थिए । 

आफूसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका कारण फरार भएका हेलम्बु २ का ४२ वर्षीय चालक छेनाम तामाङलाई बचाउन लाइसेन्सप्राप्त चौतारा साँगाचोकगढी नगरपालिका ६ का बस्नेतले दुर्घटनाको समयमा चालक आफू रहेको भन्दै इलाका प्रहरी कार्यालय मेलम्चीमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

बस्नेतको उक्त कार्यमाथि शंंका लागेर अनुसन्धान गर्ने क्रममा दुर्घटनाको बेला उनी चालक नरहेको र त्यस बेलाका चालक तामाङ नै भएको खुल्न आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

घटनाको समयमा चालक तामाङसँग लाइसेन्स नभएको र उनलाई बचाउन लाइसेन्सप्राप्त चालक बस्नेतले आत्मसमर्पण गरेको प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताए । उनका अनुसार सक्कली र नक्कली दुबै चालकलाई पक्रेर कसुर प्रमाण दबाउन नहुनेसम्बन्धी अभियोगमा ७ दिन म्याद थपी मेलम्ची इलाका प्रहरी कार्यालयबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

टिप्पणीहरू