कांग्रेसका नेता जुवाको खालबाट पक्राउ

कांग्रेसका नेता जुवाको खालबाट पक्राउ

प्रहरीले अस्ति काठमाडौं महानगरपालिका वडा नम्बर ३१ बानेश्वरबाट ११ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गर्यो । कात्यायनीचोक बस्ने सगोल कोइरालाको घरमा जुवा खेलिरहेको गोप्य सूचना पाएपछि महानगरीय प्रहरी वृत्त, बानेश्वरले छापा मारेको थियो । 

सोही क्रममा प्रहरीले आठ लाख १० हजार चार सय रुपैयाँ र १२ बुक ताससहित ११ जनालाई समातेको हो । पक्राउ पर्नेमा ४८ वर्षीय जय सूर्यवंशी, ६७ वर्षीय रामचन्द्र खड्का, ४४ वर्षीय खड्गबहादुर रजन, ६५ वर्षीय श्यामभक्त मुनाकर्मी, ३६ वर्षीय जोर्तेन्द्र खत्री रहेका छन् । 

त्यस्तै, २९ वर्षीय मुकेश राजगिरी, ४१ वर्षीय कुमार ढुंगेल खत्री, ४५ वर्षीय गुरुप्रसाद आचार्य, ३६ वर्षीय दुधराज वन, ३१ वर्षीय भविन्द्र केसी र ४७ वर्षीय चुडामणी केसी पनि समातिएका छन् । 

रामेछापमा प्रभावशाली मानिने एक जना नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य पनि यसै टोलीमा परेको पाइएको छ । सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानका रामचन्द्र खड्कासहित अन्य हाल प्रहरी वृत्तको हिरासतमा छन् । 

२०७० सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछाप निर्वाचन क्षेत्र नम्बर २ बाट उठेका खड्का नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसंग पराजित भएका थिए । उनले १६ वर्ष कांग्रेसबाट जिल्ला सभापतिको भूमिकासमेत निर्वाह गरिसकेका छन् । 

हाल प्रहरी हिरासतमा रहेका उनीहरुलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं लैजाने तयारी भइरहेको एक प्रहरी अधिकृतले बताए । त्यसपछि अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने ती अधिकृतको भनाइ छ । 

‘उहाँहरु हाम्रै हिरासतमा हुुनुहुन्छ । आज जिल्ला सरकारी वकिल कार्यालय लैजाने तयारी भइरहेको छ । त्यसपछि म्याद थप गर्न अदालत लैजान्छौं अनि अनुसन्धान अघि बढ्छ’, उनले भने । स्रोतका अनुसार त्यहाँ एक–दुईटा घर भाडामै लिएर जुवा खेलाउने गरिएको छ । 

खड्काका जेठान दीपक केसी बुहारी बलात्कारको आरोपमा जेलमा छन् । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी र हाडनाताको मुद्दामा ६८ वर्षीय वृद्दा जेठानलाई केन्द्रीय कारागार, सुन्धारा पठाएको छ । हाल उनी जुवाखालबाट समातिएका हुन् ।

 

टिप्पणीहरू