बालुवाटारमा लेनदेन,समितिमा एमालेले चित्त बुझाएसँगै विधेयक अघि बढ्दै

बालुवाटारमा लेनदेन,समितिमा एमालेले चित्त बुझाएसँगै विधेयक अघि बढ्दै

तीन ठूला दलका प्रमुख सचेतकसहित शीर्ष नेताहरुको बैठकले संसदीय समितिहरुको नेतृत्व भागबण्डा टुंग्याएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सहमति जुटाएको हो । बालुवाटार बैठकले संसदीय सुनुवाई समितिसहित सबै समितिको नेतृत्व भाग मिलाएको छ । जसमध्ये प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन वटा समितिको सभापति पाउने र बाँकी सत्तापक्षले राख्ने सल्लाह भएको छ । 

सहमतिअनुसार महत्वपूर्ण समितिहरुमा सुनुवाई समिति काँग्रेसले लिनेछ भने सार्वजनिक लेखा समिति र संयुक्त सदनको प्रतिनिधित्व रहने राज्यका निर्देशक सिध्दान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति एमालेको हुनेछ । 

जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्नेसम्बन्धमा पनि दलहरुबीच कुरा मिलेको छ । 

यसअघि टीआरसी विधेयक छुट्टै समितिमा लैजाने सहमति गरेका दलहरु आज भने सम्बन्धित समितिमा पठाएर उपसमितिमा छलफल गराउन तयार भएका हुन् । संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने,संसदीय सुनुवाइ समिति गठन गर्ने, टीआरसी विधेयक टुंगोमा पुर्याउने लगायतका विषयमा सहमति भएको प्रमुख सचेतक पाण्डेले बताए ।

‘निकै सकारात्मक छलफल भएको छ । संसदको बजेट अधिवेशन जारी छ,संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’उनले भने, ‘संसदका विषयगत समितिहरू गठन गर्न बाँकी छ,सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ,संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन । यिनै विषयमा छलफल भयो । संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ । छिट्टै निष्कर्षमा पुग्छौँ ।’ 

संसदीय समितिको नेतृत्व भागबण्डा टुंगो लागेसँगै संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढ्ने भएको छ । यसअघि एमालेको अनिच्छाका कारण विधेयक अघि बढ्न सकेको थिएन । 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी मुख्य सचेतक पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।

 

टिप्पणीहरू