प्रहरी घेराभित्रैबाट बालकृष्ण खाँणले मास्क खोलेर हात हल्लाए

प्रहरी घेराभित्रैबाट बालकृष्ण खाँणले मास्क खोलेर हात हल्लाए

पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । पक्राउ परेको पाँच दिनपछि पहिलोचोटी प्रतिक्रिया दिएका उनले यस प्रकरणमा आफू संलग्न नरहेको बताएका हुन् । 

म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएका उनले अदालत परिसरमा सञ्चारकर्मीलाई हात हलाउँदै अभिवादन पनि गरे । त्यसक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’

आज दोस्रो पटक अदालतमा उपस्थित गराइएका खाँण निकै निराश देखिएका थिए । पक्राउ परेको दिन र पहिलोचोटी अदालतमा उपस्थित हुँदा मास्क लगाएका उनले आज मास्क खोलेका थिए तर पाँच दिनपछि पनि उनी पुरानै खरानी रंगको कोट, निलो पाइन्ट र प्रहरीको जस्तौ नीलो क्यापमा देखिए ।

सर्वसाधारण नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न भएको आरोपमा खाँणसहित १२ जना समातिएका छन् । उनीहरुमाथि अनुसन्धान पूरा नभएकाले आज चार दिनको म्याद थप गरिएको हो । 

म्याद थपको अनुमति लिन एकैसाथ अदालत लगिएका उनीहरुमध्ये खाँण र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले हत्कडी लगाएको छैन । यस प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तहरुलाई भने हत्कडी लगाएर अदालत पुर्याएको हो ।

टिप्पणीहरू