खाँणलाई हत्कडी नलगाइएकोमा सर्वसाधारणको आक्रोश, अदालत बाहिरै ‘देश बेचुवा‘ र ‘डाँका’ को आरोप

खाँणलाई हत्कडी नलगाइएकोमा सर्वसाधारणको आक्रोश, अदालत बाहिरै ‘देश बेचुवा‘ र ‘डाँका’ को आरोप

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुध्द सर्वसाधारणले आक्रोश पोखेका छन् । उनलाई अन्य अपराधी र अभियुक्तसरह हत्कडी नलगाइएकोमा प्रहरी संगठनको पनि आलोचना भएको छ ।

सोही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी हिजो राति बूढानीलकण्ठ नजिकैको पासिकोटबाट पक्राउ परेका छन् । उनलाई आज अदालतमा उभ्याईंदैछ । खाँणलगायत यसअघि समातिएका १२ जनालाई अनुसन्धानको निम्ति हिजो अदालतले ४ दिन म्याद थपेको छ । 

सोही क्रममा हिजो अपरान्ह काठमाडौं जिल्ला अदालतमा पुर्याइएका खाँणविरुध्द सर्वसाधारणले अदालतको पर्खाल बाहिरबाटै आक्रोश पोखेका छन् । उनीहरुले हत्कडी नलगाइएको र अनावश्यक सम्मान दिइएकोमा प्रहरीको समेत आलोचना गरेको भिडियोमा सुन्न सकिन्छ । 

प्रहरीको भ्यानबाट उत्रिँदै गर्दा र अदालतबाट प्रहरी हिरासतमा जाँदै गर्दा खाँणको कामप्रति एक जना महिलाले भनेकी छन्, ‘ओइ बालकृष्णे । चोर गधा,ए देश बेचुवा । डाँका । हाम्रा नेपाली दाजुभाइलाई अरुको देशमा बेच्ने होइनस् ? ओई, पुलिस प्रशासन हत्कडी लगा । यो डाँकालाई हत्कडी लगा ।’

ती महिलाले त्यसो भनिरहँदा केही मानिस अदालतको मूलद्वारमा उभिएर खाँणलाई प्रहरीको भ्यानबाट ओर्लंदा र चढ्दा नमस्कारसहित अभिवादन गरिरहेका थिए । त्यसबीच सचिव टेकनारायण पाण्डेलाई अदालतबाट बाहिर ल्याउँदा पनि सर्वसाधारणले हत्कडी लगाउनुपर्ने आवाज उठाएका छन्  ।
 

टिप्पणीहरू