रास्वपाको कर्मचारी आवश्यकता, विदेशमा बसेकालाई प्राथमिकता

रास्वपाको कर्मचारी आवश्यकता, विदेशमा बसेकालाई प्राथमिकता

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन कार्यालयको निम्ति प्रमुख कार्यकारी अधिकृत (सिईओ) मागेको छ । यसअघि गरिएको विज्ञापन रोकिएकाले पुनः आवेदन मागिएको बताइएको छ । 

विदेशमा बसेका र व्यवस्थापन क्षेत्रमा काम गरेकालाई प्राथमिकतामा राखिने रास्वपाले जनाएको छ । सिईओको रुपमा विकास, सुशासन, व्यवस्थापनलगायत सम्पूर्ण कार्यभार सम्हाल्न सक्नेले जेठ १५ गतेभित्र आवेदन गर्न सक्नेछन् ।

यसअघि दरखास्त दिएकाले पुनः आवेदन दिनुनपर्ने जानकारी गराउँदै रास्वपाले आकर्षक तलब र सेवासुविधा रहेको जनाएको छ । चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले आफ्नो बायोडाटा रास्वपाको इमेलमा पठाउनुपर्नेछ । 

विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियान थालिएको भन्दै रास्वपाले गत पुस ८ गते सिइओ मागेको थियो । पार्टी सभापति लामिछानेले विदेशबाट फर्किएर नेपालमा काम गर्न चाहनेलाई आफैं एयरपोर्टमा लिन जाने घोषणा त्यतिबेला गरेका थिए ।

टिप्पणीहरू