पहिचानवादीको निशानामा एमाले भोजपुरका नेता, कार्यकर्ता

पहिचानवादीको निशानामा एमाले भोजपुरका नेता, कार्यकर्ता

नेकपा एमाले भोजपुर जिल्ला कमिटीले कोशी प्रदेशका पहिचानवादीले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निशाना बनाएकोमा चर्को असन्तुष्टि जनाएको छ ।

एमाले भोजपुरले पछिल्लो समय पहिचानवादीको आवरणमा केही समूहले दलको शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्ने र नेतामाथि आक्रमणको प्रयास गरिरहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इलाममा कोशीका सांसद एवम् पूर्वमन्त्री रामराना मगर र केही समयअघि झापामा एमाले अध्यक्ष केपी ओलीमाथि भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईको भनाइ छ । 

आफ्ना नेता तथा कार्यकर्तामाथि श्रृखलाबद्ध आक्रमण गर्नेलगायत अराजक गतिविधि गैरकानुनी र आपराधिक रहेको उल्लेख गर्दै उनले घटनामा संलग्न जोसुकैलाई तत्काल कानूनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन् । 

‘कुनै आवरणमा दलको शान्तिपूर्ण कार्यक्रममाथि अवरोध गर्ने, नेता तथा कार्यक्रममाथि श्रृखलाबद्ध आक्रमण गर्नेलगायत अराजक गतिविधि गैरकानूनी र अपराधिक काम हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका गैरकानूनी, असंवैधानिक र अपराधिक क्रियाकलापहरुको नेकपा (एमाले) जिल्ला कमिटी भोजपुर भत्र्सना गर्दै यस प्रकारका घटनामा संलग्न जोसुकैलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गर्दछ ।’

टिप्पणीहरू