विज्ञापन बोर्डविरुध्द जागे पत्रकार

विज्ञापन बोर्डविरुध्द जागे पत्रकार

सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णयविरुध्द माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपाल आन्दोलनमा उत्रिएको छ । 

प्रेस सेन्टरमा आवध्द पत्रकारहरुले पत्रकार महासंघसँगको समन्वयमा बबरमहलस्थित बोर्डको कार्यालयमा हिजोदेखि धर्ना दिइरहेका छन् । 

यसैबीच प्रेस सेन्टर गण्डकी प्रदेशका महासचिव सन्तोष गौतमले आज विज्ञप्ति जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको लोककल्याणकारी विज्ञापन अनुदान कटौतीको निर्णयले स्वरोजगारमूलक सञ्चारमाध्यम र पत्रकारलाई मर्का परेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका छन् । 

कोभिड–१९, विश्वव्यापी आर्थिक मन्दीजस्ता कारणले समस्यामा परेका सञ्चारमाध्यमको सबलीकरण र पत्रकारहरुको पेसागत सुरक्षाका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन तथा विज्ञापन क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्न समेत उनले तीनै तहका सरकारको ध्यानाकर्षण गराए । 

महासचिव गौतमले सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले तोकिएको पारिश्रमिक नियमित र समयमै नपाउने विद्यमान समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलाई पहलकदमी लिन पनि अनुरोध गरेका छन् ।
 

टिप्पणीहरू