पाठ्यक्रमबाट डा.सन्दुकको जीवनी हटाइएकोमा नेविसंघ अध्यक्ष क्रुद्ध

पाठ्यक्रमबाट डा.सन्दुकको जीवनी हटाइएकोमा नेविसंघ अध्यक्ष क्रुद्ध

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालसँग कक्षा १० को पाठ्यक्रमबाट डा.सन्दुक रुइतको जीवनी हटाएकोबारे सोधनी गरेका छन् ।

आज दिउँसो महानिर्देशक अर्याललाई फोनमार्फत् अध्यक्ष शेर्पाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा.सन्दुकको जीवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाइएको भनेर प्रश्न गरेका हुन् । 

अर्यालले कक्षा १० को पाठ्यक्रमबाट हटाएपनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरिएको जानकारी दिएको उनै शेर्पाले बताएका छन् । गत चैत २ गते पाठ्यक्रममा नैतिक शिक्षालगायत विद्यार्थीलाई आवश्यक जीवनपयोगी विषयवस्तु समावेश गर्न केन्द्रलाई बुझाएको ज्ञापनपत्रको सन्दर्भमा पनि उनले फोनबाट जानकारी मागेका थिए । शेर्पाका अनुसार यो वर्षबाट कक्षा ११–१२ को पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्नुका साथै अन्य तहमा पनि समावेश गर्न छलफल भइरहेको अर्यालले जानकारी दिएका छन् । 

‘भर्खरै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालसँग फोनमार्फत सम्पर्क गरेर दुई विषयमा जानकारीका साथै ध्यानाकर्षण गराएँ,’ शेर्पाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेविसंघले गत चैत २ गते ज्ञापनपत्रमार्फत पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रममा नैतिक शिक्षालगायत विद्यार्थीलाई आवश्यक जीवनपयोगी विषयवस्तु समावेश गर्न प्रस्तुत गरेको मागका सन्दर्भमा जानकारी लिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा.सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको भनेर प्रश्न गरेँ ।’

टिप्पणीहरू