सिंहदरबारदेखि शीतल निवाससम्म भेटघाट, चप्पल कारखानामा मञ्जु खाँण

सिंहदरबारदेखि शीतल निवाससम्म भेटघाट, चप्पल कारखानामा मञ्जु खाँण

हिजो दिउँसोदेखि साँझसम्म सिंहदरबार, बालुवाटार, शीतल निवास र चप्पल कारखानामा नेताहरुको आउजाउ निकै बाक्लो देखियो । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. रामशरण महतबीच सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको थियो ।

त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसँग अपरान्ह बस्ने क्याबिनेट बैठकको एजेण्डाबारे छलफल गर्नुभएको बताइन्छ । अपरान्ह सवा ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक बसेको थियो । 

क्याबिनेट बैठक सकाएपछि साँझ साढे ५ बजे प्रधानमन्त्री सोझै राष्ट्रपति कार्यालय, शीतल निवास पुग्नुभएको थियो । उहाँसँगै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, अर्थमन्त्री डा. प्रकाशशरण महत, गृहसचिव दिनेश भट्टराईलगायत टोली पनि राष्ट्रपतिसँगको कुराकानीमा सहभागी भएको बताइन्छ ।

हिजै नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास चप्पल कारखानामा भेटघाट गर्न सांसद तथा काँगे्रेस नेतृ मञ्जु खाँण पुगेकी थिइन् । खाँण नक्कली शरणार्थी प्रकरणको पछिल्लो अवस्थाबारे छलफल गर्न देउवा निवास पुगेको बताइएको छ । उनका श्रीमान् तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा छन् । उनीलगायत १६ जनाविरुद्ध प्रहरीले संगठित ठगी, राज्यविरुद्धको अपराधलगायत कसूरमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको छ । मञ्जु र देउवा पत्नी डा. आरजू राणामाथि पनि गिरोहसँग क्रमशः साढे २  करोड र ६ करोड असुलेको आरोप छ ।

दिउँसो अर्थ मन्त्रालयमा अर्थमन्त्री महतसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले सामूहिक भेटवार्ता गरेको थियो ।

टिप्पणीहरू